कुखुरा खान पसेको चितुवा खोरमै थुनिएपछि…

स्याङ्जा – कुखुरा खान खोरभित्र पसेको चितुवा आफै खोरमा थुनिएको छ। अर्जुनचौपारी गाउँपालिका ४ राम्चेको खोरभित्र पालिराखेका कुखुरा खान गएको चितुवालाई स्थानीयले शनिबार सोही खोरमा थुनेर नियन्त्रणमा लिए।

राम्चेका उज्वल चापागाँईको कुखुरा खोरमा चितुवा थुनिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खोरका कुखुरा रातमा एकाएक सल्बलाउँदै कराउन थालेपछि चापागाँई परिवारले के पसेछ भन्दै खोरमा जादाँ चितुवा देखेपछि निस्कने बाटोमा फलेकले बन्द गरेर खोरभित्रै थुनी दिएका थिए।

चितुवालाई खोरभित्रै थुन्ने क्रममा चापागाँईको खुट्टा समेत भाँचिएको छ । वन कार्यालयका कर्मचारीसहित प्रहरीको सहायताले चितुवा वन कार्यालयमा राखिएको छ ।

चितुवाले एउटा कुखुरो खाइसकेको र अर्को मारेको अवस्थामा भेटिएको छ। वनजंगल बढेसँगै स्याङजामा चितुवाको संख्यामा वृद्धि भएको छ ।

पानी र आहाराको खोजी गर्दै चितुवा वस्तीसम्म आउन क्रम बढेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।उपयुक्तस्थल हेरी एक÷दुई दिनमै चितुवालाई वनमै छाडिने उनले बताए।

ताजा समाचार

This will close in 10 seconds