कञ्चनपुर
पर्यटन विकासका लागि कञ्चनपुरमा नेचर गाईड तालिम शुरु भएको छ । आइतबारदेखि भीमदत्त नगरपालिका १४ नयाँ गाँउमा तालिम शुरु भएको हो । नेपाल पर्यटन बोर्ड, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको आयोजनामा चार दिने नेचर गाईड तालिम आयोजना गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जापुनले पर्यटकका लागि निकुञ्ज उत्तम गन्तव्य भएकाले तालिम सान्र्दभिक भएको बताए ।


शुक्लाफाँटा मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष लव विष्टले कोरोनाले प्रभावित भएको पर्यटन क्षेत्र सुधारोन्मुख हुने बताए । नेचर गाईड एसोसिएनका अध्यक्ष बिरेन्द्र खातीले नेचर गाईडका समस्या सम्बोधनमा जोडदिए । आन्तरिक पर्यटन उत्थान समिति सुदूरपश्चिम प्रदेशका सह संयोजक प्रमानन्द भण्डारीले भारतसंग नजिक रहेको शुक्लाफाँटा सहित सुदूरपश्चिम प्रदेशमा नेचर गाईडको खाँचो रहेको औल्याउँदै यहाँका पर्यटकिय गन्तव्यको विस्तारमा जोडदिए ।

नेपाल पर्यटन बोडका बरिष्ठ अधिकृत हिम्मत बहादुर ऐरले कोडिभले धरासायी पारेको पर्यटन क्षेत्र सुधारका लागि तालिम आयोजना गरिएको बताए । ‘यस सुदूरपश्चिम क्षेत्रमा थुप्रै पर्यटकिय सम्भावना छन, ‘उनले भने, ‘यहाँ पर्यटकलाई घुमाउन नेचर गाईडको आवश्यकता महसुस गरेर बोर्डले जनशक्ति तयार पार्न लागेको हो ।’ चार दिने तालिममा मध्यवर्ती क्षेत्रका २५ स्थानीय युवाहरुको सहभागिता रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जापुन, सहायक संरक्षण अधिकृतद्वय रविन चौधरी, क्रान्ति कँडेल, रेन्जर यम बहादुर रावत, एनटिएनसीका प्रमुख लक्ष्मी जोशी, आन्तरिक पर्यटन उत्थान समिति सुदूरपश्चिम प्रदेशका सह संयोजक प्रमानन्द भण्डारी लगायतका पर्यटन क्षेत्रका विज्ञ, पदाधिकारी तथा संरक्षण क्षेत्रका कर्मचारीले तालिम दिने छन ।







