कञ्चनपुर
काँग्रेस पार्टी फुटेर पनि जुटेको एक दशक बढि समय भईसक्यो, तर पार्टीकै विद्यार्थी भातृ संगठन नेवि संघ अझै जुट्न सकेको छैन । नेवि संघ भित्र संस्थापन भनेर कोईरालाधार र देउवा दुई मुल धारका सहित विभिन्न सहायक धार देखिएका छन । नेवि संघ कञ्चनपुरले नेतृत्व नपाएको करिब दशक वितिसक्यो । केन्द्रबाट पत्र ल्याउँदै आफ्नै समुहबाट स्वघोषित अध्यक्ष भए, एकले अर्कोलाई स्वीकार गरेर हुँदाहुँदा तीन बर्ष अघि एक जिल्ला तीन नेवि संघ अध्यक्ष भए ।
देउवा समुहकै एनपी साउद धारबाट टेक पाण्डेय, रमेश लेखक धारबाट कृष्ण भट्ट र संस्थापक कृष्ण प्रशाद सिटौला धारबाट राज बहादुर चन्द अध्यक्ष भएका थिए । ०६४मा नेवि संघ कञ्चनपुरको अध्यक्ष भएका तर्कराज भट्टपछि देउवा समुहबाट अच्यूतराज कलौनी र कोईराला संस्थापन समुहबाट गंगा भट्ट अध्यक्ष भए । दुवै अध्यक्ष भट्ट र कलौनीले आफु नै नेवि संघ कञ्चनपुरको अध्यक्ष भएको दावि गर्दै प्रेस नोटसम्म जारी गरेका थिए ।


पार्टीभित्र देखिएको नेवि संघको विवाद अहिले फेरी चुलिएको छ । संसद विघटनसंगै पूर्नस्थापनाका लागि आन्दोलनको तयारी भन्दै देउवा समुहबाट नेवि संघ पुर्व सहमहामन्त्री अच्यूतराज कलौनीले गत शुक्रबार महेन्द्रनगरको कञ्चन विद्यामन्दिरमा नेवि संघ संगठन विस्तार गरेका छन । नेवि पुर्व सहमहामन्त्री कलौनी र नेवि संघकै पुर्व केन्दीय सदस्य प्रकास थापा आथित्यमा ईश्वर जोशीको सभापतित्वमा नेवि संघ कञ्चन विद्यामन्दिरको इकाई कमिटी गठन गरेका थिए । पुर्व सहमहामन्त्री कलौनी नेतृत्वमा पार्टीको निर्देशन र संगठनको नीति विपरित गुटलाई बलियो बनाउन एकलौटी ढङगबाट नेवि संघको संगठन विस्तार गरिएको भन्दै संस्थापन पक्षका नेवि संघका नेता एव पुर्व नेवि संघ कञ्चनपुरका अध्यक्ष तर्कराज भट्टले समेत एकलौटी ढङगबाट महेन्द्रनगरका क्याम्पसमा संगठन विस्तारमा जुटेका छन । भट्ट समुहको नेवि संघले आइतबार विपी जोशी नेतृत्वमा सिद्धनाथ विज्ञान क्याम्पस र कृष्णदेव जोशी नेतृत्वमा जनज्योति बहुमुखी क्याम्पसमा कमिटि विस्तार गरेका छन ।


उनी सहित नेवि संघका पुर्व केन्द्रीय सदस्य विष्णू जोशी, गणेश भट्ट, कैलाश चन्द, देवराज जोशी, सिटौला समुहका कञ्चनपुर नेवि संघ अध्यक्ष गंगा भट्ट, लेखक समुहका जिल्ला अध्यक्ष कृष्ण भट्ट, आशिष खत्री सहितले संगठन विस्तार गरेका हुन । नेवि संघ कञ्चनपुरका पुर्व जिल्ला अध्यक्ष एव संस्थापन समुहका नेता तर्कराज भट्टले देउवा समुहबाट एकतर्फी रुपमा संगठन विस्तार गर्न खोजिएपछि हामीले पनि संगठन विस्तार गरेको बताए । आफ्नो अध्यक्षको कार्यकाल सकिएपछि जिल्लाभरी संगठन नभएको अवस्थामा संसद विघटन बिरुद्धमा पार्टीले समेत नेवि संघ र भातृ संगठनलाई जिम्मेबारी दिएको सन्र्दभमा संगठन विस्तारमा जुटेको बताए । ‘उता देउवा समुहले एकलौटी र संगठनको नीति, सिद्धान्त विपरित बहुमत नेवि संघलाई पाखा लगाएर संगठन विस्तार गर्न खोजियो, त्यसको बिरुद्धमान हामीले पनि सगठन विस्तार गरिरहेका छौँ, जिल्लाभरी गछौँ ।’ प्रधानमन्त्री ओलीको असम्वैधानिक कदम बिरुद्धमा समेत संगठन विस्तार भईरहेको उनको दावि छ । ‘अहिले न स्ववियू निर्वाचन छ, ‘न नेवि संघको अधिवेशन यो केबल गुट बलियो बनाउँदै संगठन ध्वस्थ गर्ने कार्य हो, ‘भट्टले भने, ‘नेवि संघको बिरासत जोगाउनका लागि हामीपनि संगठन विस्तारमा छौँ ।’


देउवा समुहका नेवि संघ नेता पुर्वसहमहामन्त्री अच्यूतराज कलौनीले नेवि संघको कमिटी विस्तार नभई आन्दोलनका लागि विद्यार्थी संगठन गरेको बताए । आफुहरुले कहिकतै नेवि संघको संगठन विस्तार नगरेको उनको दावि छ । ‘हामीले एकलौटी नेवि सघ विस्तार गरेका छैनौँ, ‘उनले भने, ‘कञ्चनमा गरिएको १९ माघमा पार्टीको निर्देशन अनुरुप भातृ संगठनलाई समेत आन्दोलनमा जोडेकाले प्रधानमन्त्री ओलीको असम्वैधानिक कु बिरुद्धमा आन्दोलन लागि गठन गरेका हौँ ।’ आन्दोलनपछि सबै नेवि संघकै नेताको चाहना र सहमती सहकार्यमा नेवि संघको जिल्लाभरी संगठन विस्तार गरिने उनले बताए । नेवि संघ कञ्चनपुरको विवादमा पार्टीका नेताहरुले विवादै नरहेको बताएका छन ।
‘नेवि संघमा विवाद छैन, ‘काँग्रेस नेता दिवान विष्टले भने, ‘एक दिन एक ठाँउमा गरियो, अर्कादिन अर्को क्याम्पसमा भयो, यसमा के विवाद भन्नु ।’ नेवि संघले छुट्टाछुट्टै कमिटि विस्तार गरेको विषयमा नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि प्रशाद बोहराले आन्दोलनका लागि गठन भएका दुवै अवैधानिक भएको बताए । ‘जस्तो केन्द्रमा तदर्थ समिति एक छन, ‘सभापति बोहराले भने, ‘आन्दोलन पछि दुवै पक्षलाई बोलाएर सहमतीमा लग्छौँ, र केन्द्र जस्तै जिल्लामा समेत तदर्थ समिति गठन गराएर विवाद समाधान गछौँ ।’ लोकतान्त्रिक मुल्य मान्यता अनुरुप संचालन हुने पार्टीका भातृ संगठन विभाजित भएपछि काँग्रेसका सर्मथकहरुले चिन्ता व्यक्त गरेका छन ।






