झलारी, कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको १५औँ क्याम्पस सभा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले सामुदायिक क्याम्पसको विकासका लागि प्रदेश सरकार, स्थानीय तह र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

मन्त्री रावलले सामुदायिक क्याम्पसहरूले स्थानीय स्तरमै उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएकाले तिनको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासमा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो। सामुदायिक क्याम्पसको संस्थागत सुदृढीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि र आवश्यक पूर्वाधार निर्माणमा सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष सिद्धराज भट्टको सभापतित्वमा सम्पन्न सभामा शुक्लाफाँटा नगरपालिकाका शिक्षा शाखा प्रमुख टेकेन्द्रराज भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नगरपालिकाका १२ वटै वडाका अध्यक्ष, क्याम्पसका सल्लाहकार, समाजसेवी, अभिभावक तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

सभामा प्रगति प्रतिवेदन प्रस्तुत गरनु हुँदै क्याम्पस प्रमुख भवराज निराैलाले वि.सं. २०५७ मा स्थानीय बुद्धिजीवी, अगुवा तथा अभिभावकहरूको पहलमा स्थापना भएको क्याम्पसले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा बीबीएस कार्यक्रमको सम्बन्धन प्राप्त गरी शैक्षिक यात्रा सुरु गरेको बताउनु भयाे । उहाँका अनुसार त्यसपछि २०६९ सालमा एमएड, २०७८ सालमा एमबीएस र २०७९ सालमा थप एमएड कार्यक्रमको सम्बन्धन प्राप्त गरेको हो।
क्याम्पसले स्थानीय स्तरमै उच्चशिक्षाको अवसर प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गरिरहेको प्रतिवेदनमा उल्लेख छ। यहाँबाट उत्पादित जनशक्ति निजामती सेवा, बैंकिङ, सेना, प्रहरी तथा स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा कार्यरत छन्।
भौतिक पूर्वाधार विकासतर्फ क्याम्पसले २०७२ सालमा पाँच कठ्ठा १४ धुर जग्गा प्राप्त गरेको थियो। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको अनुदानमा चारकोठे दुईतले भवन, दुईकोठे भवन, पक्की घेरपर्खाल, गेट तथा खानेपानी ट्यांकी निर्माण सम्पन्न भएको छ। त्यस्तै विश्वविद्यालय अनुदान आयोगको एक करोड रुपैयाँ अनुदानमा तीनतले भवन निर्माण भइरहेको प्रतिवेदनमा उल्लेख छ।
क्याम्पसले शैक्षिक गुणस्तर सुधार र संस्थागत विकासलाई आगामी प्राथमिकतामा राखेको छ। प्रतिवेदनमा प्राज्ञिक उपकरणको अभाव, प्राविधिक विषय सञ्चालनमा नीतिगत समस्या, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा कठिनाइ, शिक्षक–विद्यार्थी अनुपातमा असन्तुलन तथा विद्यार्थी उत्तीर्ण प्रतिशतमा अपेक्षित सुधार हुन नसक्नुलाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ।
यी चुनौती समाधानका लागि क्याम्पसले आगामी तीन वर्षे रणनीतिक विकास योजना तयार गरी लागू गरेको छ। योजनामा भौतिक पूर्वाधार विकास, शैक्षिक उत्कृष्टताका लागि संस्थागत क्षमता अभिवृद्धि, विद्यार्थी कल्याण, अतिरिक्त क्रियाकलाप, वित्तीय स्रोत व्यवस्थापन, संस्थागत सुशासन तथा समुदायसँगको सम्बन्ध सुदृढीकरणलाई प्राथमिकता दिइएको छ।
सभामा क्याम्पसलाई स्थानीय स्तरमै गुणस्तरीय उच्चशिक्षाको केन्द्रका रूपमा विकास गर्न सबै सरोकारवालाको सहयोग र सहकार्य आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए।










