झलारी, कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० झलारीमा केन्द्रीय कार्यालय रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा ५४ लाख रुपैयाँभन्दा बढी मुनाफा आर्जन गरेको जनाएको छ।

साधारण सभाको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सञ्चालक मनमोहन बिष्टले सहकारीलाई सदस्यको विश्वास र पारदर्शी कारोबारबाट मात्रै दिगो बनाउन सकिने बताउनुभयो। उहाँले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नियमन, स्वअनुशासन र सदस्य केन्द्रित सेवालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। सदस्यको बचत सुरक्षित राख्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सके सहकारीले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने उहाँको भनाइ थियो।

सभामा संस्थाका कार्यकारी प्रमुख मदनराज भट्टले आय–व्ययसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले ५४ लाख रुपैयाँभन्दा बढी मुनाफा आर्जन गरेको जानकारी दिनुभयो।

सभाको अध्यक्षता संस्थाका कार्यवाहक अध्यक्ष डा. हरिप्रसाद अवस्थीले गर्नुभएको थियो। उहाँले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०६४ सालमा झलारी बजारका व्यवसायीहरूको रकम सुरक्षा र व्यवसाय विस्तार गर्ने उद्देश्यले स्थापना भएको सहकारी अहिले कञ्चनपुरका सबै स्थानीय तह तथा कैलालीको सदरमुकाम धनगढीसम्म विस्तार भएको बताउनुभयो। हाल संस्थामा १७ हजारभन्दा बढी शेयर सदस्य आबद्ध रहेको उहाँले जानकारी दिनुभयो।
आर्थिक मन्दी, तरलता अभाव तथा सहकारी क्षेत्रविरुद्धका आन्दोलनका बाबजुद सदस्य केन्द्रित कारोबार, नियामक निकायका निर्देशनको पूर्ण पालना, वित्तीय साक्षरता र व्यवस्थापनको उच्च मनोबलका कारण संस्था निरन्तर प्रगतिपथमा अघि बढिरहेको उहाँको भनाइ थियो।
सहकारीले सदस्यलाई आधुनिक र प्रविधिमैत्री सेवा प्रदान गर्न मोबाइल बैंकिङ, ट्याब्लेट बैंकिङ, ई–टेलर पेमेन्ट, क्यूआर पेमेन्ट तथा निःशुल्क एबीबीएस सेवा सञ्चालन गर्दै आएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत च्यारिटी हेल्थ फाउण्डेसन धनगढीको सहयोगमा विगत पाँच वर्षदेखि शुक्लाफाँटा आँखा उपचार केन्द्र सञ्चालन गरी सहुलियतमा आँखा जाँच, उपचार तथा परामर्श सेवा दिँदै आएको छ। गत आर्थिक वर्षमा मात्रै ३ हजार २९४ जनाले उक्त सेवा लिएका छन्।
संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा आयकर, बहाल कर, सामाजिक सुरक्षा कर, पारिश्रमिक कर, बैठक भत्ता कर, टीडीएस, ब्याजकर तथा लाभांश करलगायत विभिन्न शीर्षकमा नेपाल सरकारका सम्बन्धित निकायलाई ३३ लाख ६९ हजार २७ रुपैयाँ कर बुझाएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, लघु सुरक्षा योजनाअन्तर्गत गत आर्थिक वर्षमा ३६ जना सदस्यलाई सुत्केरी सुविधाबापत ३८ हजार रुपैयाँ, एक जना सदस्यलाई ३ हजार रुपैयाँ तथा आठ जना सदस्यको मृत्यु हुँदा काजक्रिया खर्चबापत ४० हजार रुपैयाँ गरी कुल ८१ हजार रुपैयाँ नगद वितरण गरिएको छ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा ऋणी सदस्यहरूको जीवन तथा ऋण बीमा गरिएको छ। सोही योजनाअन्तर्गत २१ जना सदस्यको मृत्यु भएपछि बीमा तथा काजक्रिया खर्चबापत ४४ लाख ६७ हजार ७५० रुपैयाँ वितरण गरिएको संस्थाले जनाएको छ।
सहकारीले सदस्यलाई सीपमूलक तालिम तथा आयआर्जनका गतिविधिमा जोड्दै स्वरोजगार प्रवर्द्धनलाई समेत प्राथमिकता दिएको छ। आर्थिक वर्ष २०८२/०८३ मा मात्रै १८२ जना नयाँ उद्यमी तयार भई स्वरोजगारमार्फत नियमित आयआर्जनका गतिविधिमा संलग्न भएको प्रतिवेदनमा उल्लेख छ।
साधारण सभामा अधिवक्ता उद्धवराज भट्ट, चार्टर्ड एकाउन्टेन्ट प्रकाश भट्टलगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै सहकारीले सदस्यको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो।
सभामा असल ऋणी, नियमित बचतकर्ता लगायतलाई पुरस्कार तथा सम्मानसमेत गरिएको थियो। कार्यक्रमको सञ्चालन केपी पाण्डेले गर्नुभएको थियो भने स्वागत मन्तव्य पुष्पराज भट्टले राख्नुभएको थियो।










