कञ्चनपुर : महिला उद्यमीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै उद्यम व्यवसायलाई दिगो, व्यवस्थित र नाफामुखी बनाउने उद्देश्यले कञ्चनपुरकाे झलारीमा सञ्चालित दुईदिने उद्यम तथा लेखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएकाे छ। दिगो आम्दानीद्वारा महिला उद्यमीको सशक्तीकरण परियोजना (दोस्रो चरण) अन्तर्गत बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका महिला उद्यमीहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो। एफसिए नेपाल (FCA Nepal) र ओमेन्स बैंक (Women’s Bank) को सहयोगमा निड्स नेपाल (NEEDS Nepal) द्वारा सन् २०२३ देखि तीनवटै नगरपालिकामा उक्त परियोजना निरन्तर सञ्चालन हुँदै आएको छ।

परियोजनाअन्तर्गत विभिन्न विधामा उद्यम व्यवसाय सञ्चालन गरिरहेका २८ जना महिला उद्यमीहरूको तालिममा सहभागिता रहेको थियो। तालिममा महिला उद्यमीहरूलाई दैनिक आय–व्ययको हिसाबकिताब राख्ने, नाफा–नोक्सानको लेखाजोखा गर्ने, आर्थिक कारोबारलाई व्यवस्थित बनाउने तथा उद्यम व्यवसायको दिगो व्यवस्थापन गर्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिमको सहजीकरण शुक्लाफाँटा नगरपालिकाका उद्यम शाखा प्रमुख डिबी कुस्मी, निड्स नेपालका परियोजना संयोजक हेमन्तकुमार शाही, लेखा तथा प्रशासन संयोजक गणेशराज भट्ट तथा अनुगमन, मूल्याङ्कन र व्यवसाय विकास अधिकृत मनराज उपाध्यायले गर्नुभएको थियो।

दुई दिनसम्म सञ्चालन भएको तालिमले महिला उद्यमीहरूलाई आफ्नो व्यवसायको आर्थिक व्यवस्थापन, हिसाबकिताब र व्यावसायिक योजना निर्माणमा थप सक्षम बनाउनुका साथै सञ्चालनमा रहेका उद्यम व्यवसायलाई परिष्कृत र व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको निड्स नेपालका परियोजना संयोजक हेमन्त शाहीले बताउनुभयो। उहाँका अनुसार तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा कार्यान्वयन गर्न सके महिला उद्यमीहरूको व्यवसायमा सुधार आउनुका साथै आम्दानी वृद्धि र आर्थिक आत्मनिर्भरतामा समेत टेवा पुग्ने विश्वास गरिएको छ।











