कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सहयात्री नेपाल, टोखा काठमाडौंको सहयोगमा सञ्चालन गरिएको तीनदिने निःशुल्क दन्त स्वास्थ्य शिविरबाट एक हजार बढी नागरीक लाभान्वित भएका छन। तीन दिन सम्म कृष्ण आधारभूत विद्यालय, बन्साहामा सञ्चालन भएको शिविरबाट एक हजारभन्दा बढी नागरिकले दन्त स्वास्थ्य सेवा प्राप्त गरेका छन्। दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो। शिविर सञ्चालनका लागि नेकपाका युवा नेता नवराज ऐरले पहल गर्नुभएको थियो।

शिविरमा डा. बेनिस घिमिरेको नेतृत्वमा स्वदेशी तथा विदेशी चिकित्सक र प्राविधिकसहित १७ जनाको टोलीले नागरिकलाई दन्त स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेको थियो। तीन दिनसम्म सञ्चालन भएको शिविरमा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। शिविर सम्पन्न भएपछि नेता ऐरले शुक्लाफाँटा नगरपालिकाका नागरिकलाई निःशुल्क दन्त स्वास्थ्य सेवा प्रदान गरेकोमा सहयात्री नेपाल तथा चिकित्सकको टोलीप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले शिविर सञ्चालनका क्रममा आवास तथा खानाको व्यवस्थापनलगायत विभिन्न सहयोग गर्ने वडा अध्यक्ष संगै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ।

दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यस्ता शिविर प्रभावकारी हुने उल्लेख गर्दै नेता ऐरले आगामी दिनमा पनि नगरपालिकाभित्र नागरिकलाई लाभ पुग्ने अन्य सेवामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिविरबाट प्रत्यक्ष सेवा प्राप्त गरेका सम्पूर्ण शुक्लाफाँटावासीको स्वास्थ्यलाभको कामना गर्दै उहाँले नागरिकको स्वास्थ्य र सेवामा निरन्तर पहल गर्ने बताउनुभएको छ।











