काठमाडौँ — पत्रकारिता क्षेत्रमा दुई दशकदेखि निरन्तर क्रियाशील र साहसिक फोटो पत्रकार हरिशजंग क्षेत्री सम्मानित भएका छन । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे नेपाल) को २८औँ वार्षिकोत्सवका अवसरमा उहाँलाई ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको हो ।


पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक स्व. माधव थापाको नाममा स्थापित उक्त पुरस्कारसहित उहाँलाई नगद रु. ५,००० र कदरपत्रद्वारा सम्मान गरिएको छ । कञ्चनपुरको बेलडाँडी (झरनासागर) स्थायी घर भएका क्षेत्री हाल काठमाडौँमा रहेर बाह्रखरी मिडियामा आवद्ध भई फोटो पत्रकारिता गरिरहेका छन ।

जोखिमपूर्ण परिस्थितिमा समेत सत्य, तथ्य र यथार्थलाई क्यामेरामार्फत समाजसामु प्रस्तुत गर्दै आउनुभएका क्षेत्रीको साहस, समर्पण र व्यावसायिक निष्ठाको कदर गर्दै ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको हो । देशभित्र तथा बाहिर क्रियाशील रहनुभएका क्षेत्रीले हालै सम्पन्न २०औँ एसियाली खेलकुदको रिपोर्टिङका लागि जापान तथा टि-२० विश्वकपको रिपोर्टिङका लागि भारतको मुम्बईसमेत पुगेर रिपोर्टिङ गरेको अनुभव छ ।

फोटो पत्रकारिता केवल तस्बिर खिच्ने कला मात्र नभई सत्यको दस्तावेजीकरण, समाजको आवाज र परिवर्तनको संवाहक पनि हो । क्षेत्रीले पत्रकारिताका माध्यमबाट प्राप्त गरेको उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित नभई समग्र नेपाली फोटो पत्रकारिता क्षेत्रकै गौरव र प्रेरणाको विषय पनि हो ।
पुरस्कार प्राप्त गरेपछि फोटोपत्रकार क्षेत्रीले भने निरन्तरता र कर्मप्रतिको प्रतिबद्धताले नयाँ पुस्ताका फोटो पत्रकारहरूलाई समेत ठूलो प्रेरणा मिल्ने विश्वास लिएका छन । पुरस्कारले थप जिम्मेवार भएर आगामी दिनमा कार्य गर्न प्रेरणा थपेको उनले बताए ।










