कञ्चनपुर । महाकाली नदीमा झोलुङ्गे पुल बगाउदा चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलको देवीस्थान गुल्म दोधारा चाँदनीमा कार्यरत असई सागर राज थारु रहेका छन् । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार शनिबार दिउसो १२ : १५ बजे दोधारा चाँदनी नगरपालिका–४ बाट भीमदत्त नगरपालिका– १३ तर्फ रबर बोटको सहायताले महाकाली नदी पारि टेलिकमको तार तान्ने क्रममा उक्त घटना भएको हो ।

केही दिन अघि महाकाली नदीमा रहेको झोलुङ्गे पुल बगाउदा नेपाल टेलिकमको अप्टीकल फाईवर समेत चुँडिएको थियो । अप्टीकल फाईवर चुँडिएपछि दोधारा चाँदनी क्षेत्रमा नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

अवरुद्ध सञ्चार सेवा पुन: सञ्चालन गर्ने उद्देश्यले नदीमा चुाडिएको तार रबर बोटको सहायताले वारपार तान्ने काम भइरहेको थियो । सोही क्रममा तार असई थारुको खुट्टामा अल्झिएपछि उनी रबर बोटबाट महाकाली नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ् । घटनापछि बेपत्ता असई थारुको खोजी कार्य जारी रहेको छ् ।











