प्रकास जप्रेल : विपद् मुख्यत,दुई प्रकारका कारणले उत्पन्न हुन्छन्। एउटा प्राकृतिक कारणबाट र अर्को मानवीय कारणबाट।नेपालको भौगोलिक अवस्था हेर्दा विपद्को उत्तिकै जोखिम रहेको देखिन्छ। हिमाल, पहाड र तराई भएको भूगोलका कारण नेपालमा विपद्को जोखिमको सम्भावना निकै छ। नेपालको भूगोल तीन प्रकारको छ। औसतमा हिमाली भूभाग ३५ प्रतिशत जमिन भए पनि त्यहाँ ६ प्रतिशत मात्र जनसङ्ख्याको बसोबास छ। त्यसको विपरीत, तराईमा करिब २३ प्रतिशत भूभाग भए पनि ५४ प्रतिशत जनसङ्ख्याको बसोबास छ।

यसले के सङ्केत गर्छ भने भूगोल, पूर्वाधार, रोजगारी र विकासका अवसरमा सन्तुलन कायम गर्नुपर्ने अवस्था देखिन्छ। यो जोखिमको विषय मात्र होइन, छिमेकमा विशाल देशहरू रहेकाले यस पक्षलाई पनि ध्यानमा राख्नुपर्ने अवस्था छ।नेपाल प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर, स्वस्थ र राम्रो देश हो। यसलाई सही ढङ्गले विकास तथा निर्माण गर्न सकिएन भने प्राकृतिक विपद्बाट थप क्षति हुने देखिन्छ।पछिल्ला २०–३० वर्षलाई मात्र हेर्दा बाढी, पहिरो, भूकम्प र भूक्षयलगायतका प्राकृतिक विपत्तिले निकै ठूलो मानवीय, आर्थिक र भौतिक क्षति पुर्याएका छन्।

२०७२ सालको भूकम्प तथा हालै रसुवा र भोटेकोशी क्षेत्रमा आएका बाढीपहिरोजस्ता विपत्तिले हजारौँ नागरिकको मृत्यु, बेपत्ता हुने अवस्था, ठूलो आर्थिक नोक्सानी र भौतिक संरचनाको विनाश निम्त्याएको छ ।त्यसैले नेपालको विकास भावनामा होइन, यहाँको भूगोल र प्राकृतिक अवस्थाअनुसार हुनुपर्छ। मानव संसाधन, विकास निर्माण र प्रविधिको विकासलाई भौगोलिक अवस्थाअनुसार अघि बढाउन सकियो भने विपद् जोखिम न्यूनीकरण गर्न सकिन्छ। अन्यथा, प्रत्येक वर्ष नेपालले अकल्पनीय नोक्सानी बेहोर्नुपर्ने अवस्था रहन्छ।

नेपालको सामाजिक, आर्थिक तथा चेतनाको अवस्था:
भाैगोलिक हिसाबले हिमाली क्षेत्र विकट छ। चिसो हावापानी, पर्यटन, पशुपालन र जडीबुटी त्यहाँका प्रमुख विशेषता हुन्। तर, त्यहाँको अर्थतन्त्र अझै पनि निर्वाहमुखी र तत्काल छाक टार्नुपर्ने अवस्थामा रहेको देखिन्छ।त्यहाँका समुदाय र नागरिकले आफ्नो भूगोल तथा त्यस क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोत साधनलाई मानव जीवनको समृद्धिसँग जोड्न सक्नुपर्छ। जडीबुटी, उद्योग, पर्यटन, व्यापार तथा हिमाली हावापानी अनुकूल पशुपालनजस्ता क्षेत्रको विकासका लागि नागरिक तथा समुदायले राज्यलाई आवश्यक नीति निर्माण गर्न दबाब दिनुपर्ने अवस्था छ।
यसो गर्न सकिएमा आर्थिक तथा सामुदायिक विकास सम्भव हुन्थ्यो।तर धेरै मानिसलाई राज्य के हो र राज्यसँग पहुँच कसरी स्थापित गर्ने भन्ने विषयमा पर्याप्त चेतना छैन। राज्यसम्म पहुँच भएका केही नागरिकले आफ्नो व्यक्तिगत स्वार्थका लागि राज्यशक्तिको दुरुपयोग गरेका छन्। ती मानिसहरू कामभन्दा कुरामा, श्रमभन्दा दलाली र तस्करीमा तथा समुदायको विकासभन्दा एकअर्कालाई दुःख दिने, फसाउने र पेल्ने कार्यमा संलग्न देखिन्छन्। अरूलाई दुःख दिएर आफू धनी बन्ने प्रतिस्पर्धामा नागरिकहरू लागेको देखिन्छ। यस्तो प्रवृत्तिलाई बदल्नुपर्ने राज्य नै त्यसको सारथि बनेको अवस्था छ। ठिक त्यस्तै, पहाडी क्षेत्रमा बसोबास गर्ने केही मानिसमा पनि श्रम नगरी सम्पन्न र धनी बन्ने, सुखसुविधा उपभोग गर्ने तथा त्यसकै आधारमा अरूलाई हेप्ने र दुःख दिने प्रवृत्ति देखिन्छ। त्यसका लागि राज्यका विभिन्न नेतृत्व, नीति र संरचनाको प्रयोग गर्ने प्रतिस्पर्धा पहाडी क्षेत्रका नागरिकबीच पनि देखिन्छ। यस्तो प्रवृत्तिलाई बदल्न नीति बनाउनुपर्ने राज्य नै त्यसको सारथि बनेको अवस्था छ।
तर देशलाई सुखी र सम्पन्न बनाउन पहाडी क्षेत्रमा निकै ठूलो सम्भावना छ। थोरै सङ्ख्यामा भए पनि यो सम्भावना बुझेका नागरिकहरू त्यहाँ छन्।तराईमा हिमाल र पहाडका विकृति तथा विसङ्गतिहरू फैलिने केन्द्र बनेको देखिन्छ। हामी तराईलाई अन्नको भण्डार भन्छौँ। तर, त्यहाँको उत्पादन र उद्योगको विकास गर्दै नागरिकको आर्थिक तथा सामाजिक अवस्था बलियो बनाउने, प्राकृतिक विपद्को सामना गर्न सक्ने क्षमता विकास गर्ने विषय राज्यको नीति र नागरिकको खोजीको विषय बन्न सकेको छैन। जबकि तराईमा उत्पादन र उद्योगको निकै ठूलो सम्भावना छ।राज्यशक्तिको दुरुपयोग गरेर दलाली तथा आपराधिक गतिविधिजस्ता कार्यमा नागरिकहरू तल्लीन भएका छन् र राज्य त्यसको साथी बनेको देखिन्छ।
हुन त थोरै सङ्ख्यामा भए पनि उच्च सामाजिक चेतना भएका, मेहनती र देशप्रेमी नागरिकहरू पनि छन्। तर, उनीहरू अपमानित भएको अवस्था देखिन्छ। सामाजिक तथा सांस्कृतिक रूपमा मानवीय चेतना निकै कमजोर हुँदै गएको छ, जसका कारण प्राकृतिक विपद् आउँदा त्यसबाट हुने क्षति झन् भयावह बन्दै गएको छ। त्यसैले वस्तुगत तथ्य, प्रकृति व्यवहार, बुझेर आलोचना र समर्थन कुनै पनि पात्र वा प्रवृत्तिका बारेमा आफ्नो नितान्त व्यक्तिगत लाभका लागि गलत वा सही भनेर आफ्नो स्वार्थ पूरा गराउने जुन खालको प्रवृत्ति नेपाली समाजमा हुर्किएको छ, यसबाट मुक्त भएर वस्तुगत यथार्थ, तथ्य र तथ्याङ्कका आधारमा कुनै पनि शक्ति, व्यक्ति वा प्रवृत्तिका बारेमा निष्कर्ष निकाल्ने चेतना राख्नु जरुरी छ। यसले नेपाली मानव समाजमा आएको विपत्तिको सामना गर्छ। लेखक : विद्यार्थी नेता एव समाजिक अभियन्ता हुन ।










