महेन्द्रनगर: संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले गरेको सम्बोधनपछि उनको अन्तर्राष्ट्रिय प्रस्तुति र उनले उठाएका विषयलाई लिएर विभिन्न माध्यममा चर्चा चुलिएको छ।

शुक्रबार संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री शाहले विश्व समुदायसमक्ष नेपालको समसामयिक अवस्था, जलवायु परिवर्तनका असर, हिमाली क्षेत्रको संवेदनशीलता तथा अन्तर्राष्ट्रिय सहकार्यका विषय प्रस्तुत गरेका हुन्।

विश्वका शक्तिशाली राष्ट्रका प्रतिनिधिहरू सहभागी अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्री शाहले नेपालको दृष्टिकोण स्पष्ट रूपमा राख्दै जलवायु संकटका कारण नेपालजस्ता संवेदनशील मुलुकले भोगिरहेको असरप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका थिए।

विशेषगरी हिमाल, जलवायु परिवर्तन र जलवायु न्यायका विषयलाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयासका रूपमा उनको सम्बोधनलाई हेरिएको छ। नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको प्रत्यक्ष असर भोगिरहेको विषय प्रधानमन्त्री शाहले शक्तिशाली राष्ट्र सामु अन्तर्राष्ट्रिय मञ्चबाट प्रस्तुत गर्नुभएको हो।
प्रधानमन्त्री शाहको सम्बोधनपछि सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यममा उनको प्रस्तुति, भाषाशैली र उठाइएका विषयबारे सकारात्मक तथा आलोचनात्मक दुवै प्रकारका प्रतिक्रिया सार्वजनिक भइरहेका छन्। समर्थकहरूले उनको सम्बोधनलाई युवा नेतृत्वको अन्तर्राष्ट्रिय प्रस्तुति र नेपालको आवाजलाई विश्वमञ्चमा राख्ने प्रयासका रूपमा व्याख्या गरेका छन्, भने केहीले सम्बोधनका विषय र त्यसको कूटनीतिक प्रभावबारे बहस गरेका छन्।
३६ वर्षीय प्रधानमन्त्री शाहले पहिलोपटक संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालको राष्ट्रिय हित, जलवायु संकट र विश्वव्यापी चुनौतीका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका छन् ।
नेपालको परराष्ट्र नीतिका आधारभूत मान्यता, असंलग्नता, सार्वभौमिक समानता र बहुपक्षीय सहकार्यको भावनाअनुसार नेपालको धारणा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने प्रयासका रूपमा पनि उनको सम्बोधनलाई लिइएको छ।संयुक्त राष्ट्रसंघको महासभामा १९३ सदस्य राष्ट्रको सहभागिता रहने भएकाले यस्तो विश्वव्यापी मञ्चमा नेपालको प्राथमिकता र समस्या प्रस्तुत गर्नु नेपालका लागि महत्वपूर्ण कूटनीतिक अवसरका रूपमा हेरिन्छ।
प्रधानमन्त्री शाहको सम्बोधनपछि नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय नेपाली समुदायमाझ समेत उनको प्रस्तुति र उनले उठाएका विषयबारे चासो बढेको देखिएको छ। विशेषगरी युवा पुस्ताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज प्रस्तुत गरेको विषयलाई सामाजिक सञ्जालमा विभिन्न कोणबाट चर्चा गरेका छन्।
महासभामा प्रधानमन्त्री शाहले उठाएका विषयले आगामी दिनमा नेपालको जलवायु कूटनीति, अन्तर्राष्ट्रिय सहयोग र हिमाली क्षेत्रका सवालमा थप बहस तथा सहकार्यको आधार तयार पार्ने अपेक्षा गरिएको छ। उनले, संयुक्त राष्ट्रसंघ ८१औं महासभामा प्रधानमन्त्री शाहको सम्बोधन पश्चात् अन्तिममा भने “भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्। यो विश्व बुद्धले देखाएको बाटोमा हिड्न सकोस।, धेरै धेरै धन्यवाद!नमस्ते।”










