सांसद ज्ञानेन्द्र सिंह महताद्वारा ५ सदस्यीय विज्ञ समूह गठन


कञ्चनपुर,: प्रतिनिधिसभा सदस्य तथा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सांसद ज्ञानेन्द्र सिंह महताले सार्वजनिक नीति, सुशासन, विकास निर्माण तथा जनसरोकारका विषयमा अध्ययन, सुझाव तथा परामर्श लिन ५ सदस्यीय स्वैच्छिक विज्ञ समूह गठन गरेका छन्। सांसद महताको सचिवालयले सार्वजनिक गरेको सूचनाअनुसार विभिन्न क्षेत्रमा ज्ञान, अनुभव र विशेषज्ञता हासिल गरेका नेपाली नागरिकबाट प्राप्त आवेदन तथा विवरणको अध्ययन र मूल्यांकनपछि विज्ञ समूह गठन गरिएको हो।

गठित विज्ञ समूहमा वन तथा प्राकृतिक स्रोत, कृषि तथा जलवायु परिवर्तन, पर्यटन तथा संस्कृति, गृह तथा स्थानीय प्रशासन र महिला, बालबालिका तथा सामाजिक समावेशीकरण लगायतका क्षेत्रका विज्ञहरू रहेका छन्। विज्ञ समूहमा वन तथा प्राकृतिक स्रोततर्फ वरिष्ठ वन अधिकृत (अवकाश प्राप्त) रमेश बहादुर चन्द, कृषि, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनतर्फ कृषि विज्ञानमा स्नातकोत्तर तथा सम्बन्धित क्षेत्रमा १० वर्षको कार्य अनुभव भएका सुमन सिंह, पर्यटन तथा संस्कृतितर्फ ग्रामीण विकासमा स्नातकोत्तर तथा सम्बन्धित क्षेत्रमा ५ वर्षको कार्य अनुभव भएका दिलराज जोशी, गृह, परराष्ट्र तथा स्थानीय प्रशासनतर्फ नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (अवकाश प्राप्त) पदम बहादुर सिंह तथा महिला, बालबालिका तथा सामाजिक समावेशीकरणतर्फ समाजशास्त्रमा स्नातकोत्तर तथा महिला तथा बालबालिकाको क्षेत्रमा २३ वर्षको कार्य अनुभव भएकी महेश्वरी भट्ट रहेका छन्।

सचिवालयका अनुसार विज्ञ समूहले सम्बन्धित क्षेत्रका नीति, योजना, बजेट, कानुन, कार्यक्रम कार्यान्वयन, सेवा प्रवाह, नीति विश्लेषण, अनुसन्धान तथा संसदीय गतिविधिका विषयमा अध्ययन गरी आवश्यक सुझाव तथा परामर्श उपलब्ध गराउनेछ। विज्ञ समूह स्वैच्छिक तथा अवैतनिक रूपमा गठन गरिएको सचिवालयले जनाएको छ। जनसरोकार र राष्ट्रहितका विषयमा आफ्नो ज्ञान, सीप तथा अनुभव योगदान गर्न तत्पर विज्ञहरूलाई धन्यवाद दिँदै सचिवालयले समूहका सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img