पुनर्वासमा फुटबलमार्फत लागूऔषधविरुद्ध युवाको सकारात्मक अभियान


पुनर्वास :— “लागूऔषधविरुद्ध हाम्रो लडाइँ, लागूऔषध छोडौँ” भन्ने मूल नाराका साथ कञ्चनपुरको पुनर्वासमा एकदिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। अरनिको खेलकुद विकास समिति र अरनिको युवा क्लबको आयोजनामा भएको प्रतियोगिताले युवालाई खेलकुदसँग जोड्दै लागूऔषधविरुद्ध सकारात्मक सन्देश प्रवाह गरेको छ।

पुनर्वासमा आयोजित मैत्रीपूर्ण खेलमा हिमाल फ्रेन्ड्स पुनर्वास–११ र अरनिको युवा क्लब पुनर्वास–२ बीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। निर्धारित खेल अवधिमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै समान ४–४ गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो।

खेलका क्रममा दुवै टोलीले आक्रामक र आकर्षक फुटबल प्रस्तुत गरेका थिए। खेलाडीहरूको उत्कृष्ट प्रदर्शनसँगै दर्शकहरूले पनि खेलको भरपूर मनोरञ्जन लिएका थिए। मैत्रीपूर्ण प्रतिस्पर्धामार्फत खेलकुदको विकाससँगै युवाबीच मित्रता, सहकार्य र सकारात्मक सोचको वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी तथा युवा नेता माइकल तामाङ, विशिष्ट अतिथिका रूपमा खेलप्रेमी तथा समाजसेवी निशान तामाङ र नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका कार्यसमिति सहसचिव तथा ग्लोबल एचडी टेलिभिजनका पत्रकार किशोर तामाङ उपस्थित थिए। कार्यक्रममा अरनिको युवा क्लबका टिम व्यवस्थापक गोपाल तामाङ तथा हिमाल फ्रेन्ड्सका टिम व्यवस्थापक सुदीप घर्तीको समेत उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माइकल तामाङले युवालाई सकारात्मक गतिविधिमा जोड्न तथा लागूऔषधको दुर्व्यसनबाट जोगाउन यस्ता खेलकुद र सामाजिक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

उनले भने, “कुलतले जीवन खोस्छ, खेलकुदले भविष्य बनाउँछ। लागूऔषध त्यागौँ, खेलकुद रोजौँ र स्वस्थ समाज निर्माणमा हातेमालो गरौँ।” युवालाई लागूऔषधबाट टाढा राख्नु परिवार, समाज र राज्य सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले प्रत्येक व्यक्तिले आफ्नो स्थानबाट सचेतना र रोकथामका लागि योगदान गर्नुपर्ने बताए।

“युवाको हातमा खेलकुदको बल होस्, लागूऔषधको होइन” भन्ने सकारात्मक सन्देशसहित आयोजना गरिएको कार्यक्रमले कुलतमा फसेका तथा कुलततर्फ आकर्षित भइरहेका युवालाई नयाँ बाटो रोज्न प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

अरनिको युवा क्लबका सचिव जीवन तामाङले खेलकुदका माध्यमबाट युवामा सकारात्मक सोच, अनुशासन र आत्मविश्वास विकास गर्न सकिने बताए। उनका अनुसार यस्ता कार्यक्रमले युवालाई सिर्जनात्मक गतिविधिमा सक्रिय बनाउँदै सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्छन्।

सहभागीहरूले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक एकताको आधारसमेत भएको बताएका छन्। युवालाई नियमित रूपमा खेलमैदानसँग जोड्न सके लागूऔषधलगायत विभिन्न सामाजिक विकृतिबाट टाढा राख्न महत्वपूर्ण योगदान पुग्ने उनीहरूको भनाइ छ।

अरनिको युवा क्लबका अध्यक्ष सूर्य तामाङले आगामी दिनमा पनि युवाको प्रतिभा पहिचान, खेलकुदको विकास तथा लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमलाई निरन्तरता दिने बताए।

फुटबल मैदानमा देखिएको यो मैत्रीपूर्ण प्रतिस्पर्धाले “युवाको ऊर्जा विनाशमा होइन, सिर्जना र खेलकुदमा लगाऔँ” भन्ने सन्देश दिएको छ। लागूऔषधविरुद्धको अभियानलाई खेलकुदसँग जोडेर अघि बढाइएको यस्तो पहलले स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img