कञ्चनपुरमा फिफा यू–१५ का लागि खेलाडी छनोट सुरु, विश्व फुटबलको यात्राका लागि प्रतिभाको खोजी!


महेन्द्रनगर: कञ्चनपुर जिल्लामा फिफा यू–१५ विश्वकप तथा फेस्टिबल–२०२६ का लागि युवा फुटबल खेलाडी छनोट प्रक्रिया सुरु भएको छ।

“विश्वलाई फुटबलले जोड्छ, हरेक प्रतिभालाई एक अवसर दिऔँ” भन्ने नारासहित आयोजना हुन लागेको छनोट कार्यक्रम कञ्चनपुर जिल्लाका महेन्द्रनगर, कृष्णपुर र पुनर्वास गरी तीन स्थानमा सञ्चालन हुने कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले जानकारी दिनुभयो।

महासचिव रावलका अनुसार महेन्द्रनगरस्थित खुलामञ्चसहित कृष्णपुर र पुनर्वासमा यू–१५ उमेर समूहका प्रतिभावान खेलाडीहरूको छनोट गरिनेछ। स्थानीय स्तरमा लुकेर रहेका फुटबल प्रतिभालाई पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले छनोट कार्यक्रम आयोजना गरिएको हो।

अजरबैजानमा सन् २०२६ अक्टोबर २२ देखि ३१ गतेसम्म आयोजना हुने फिफा यू–१५ विश्वकप तथा फेस्टिबल–२०२६ का लागि पुरुष खेलाडी छनोट भइरहेको छ। छनोटमा सहभागी यू–१५ उमेर समूहका खेलाडीहरूले आफ्नो खेल कौशल, प्रतिभा, शारीरिक क्षमता तथा फुटबल क्षमता मैदानमा प्रदर्शन गर्दै नेपालको प्रतिनिधित्व गर्ने ऐतिहासिक अवसरका लागि प्रतिस्पर्धा गर्नेछन्।

कञ्चनपुरका विभिन्न स्थानमा सञ्चालन भइरहेको छनोट कार्यक्रमले जिल्लाका ग्रामीण तथा स्थानीय तहमा रहेका सम्भावनायुक्त युवा खेलाडीलाई पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलको मञ्चसम्म पुग्ने बाटो खोल्ने अपेक्षा गरिएको छ।

युवा खेलाडीका लागि यो छनोट प्रतियोगिता मात्र नभई विश्व फुटबलको यात्रातर्फ अघि बढ्ने सुनौलो अवसरका रूपमा हेरिएको छ। फुटबलमा भविष्य खोजिरहेका कञ्चनपुरका प्रतिभावान खेलाडीहरूलाई उत्साहपूर्वक सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्न आयोजकले आग्रह गरेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img