कञ्चनपुर । माइती नेपाल आवधिक गृह कञ्चनपुरले आर्थिक वर्ष २०८२ र ८३ को कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ् । बुधबार एक कार्यक्रमको आयोजना गर्दै सामाजिक परीक्षण कार्यक्रम अन्तर्गत गृहले वर्षभरि गरेका गतिविधि तथा उपलब्धि सहितको कार्यप्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त कार्यक्रमको सभाध्यक्षमा जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा रहनु भएको थियो भने, भीमदत्त नगरपालिका १८ का अध्यक्ष रविन्द्र प्रसाद देवकोटा, भीमदत्त नगरपालिका बालबालिका शाखा प्रमुख कुन्ती लेखक, विभिन्न गैर सरकारी संस्थाहरु, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका शाखा, समाजसेवीहरु लगाएतको उपस्थिती रहेको थियो । प्रतिवेदन अनुसार माइती नेपाल कञ्चनपुरले सीमा क्षेत्रमा मानव बेचबिखन तथा जोखिममा परेका १ सय ७५ जनाको उद्धार गरेको छ् ।


माईती नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक महेश्वरी भट्टले उद्धार गरिएका मध्ये ७८ जना बालबालिका र ९७ जना महिला रहेको बताउनुभयो । सीमा क्षेत्र तर्फ गड्डाचौकी मिनानाकाबाट ६७ जना, चारलेन पुलबाट २६ जना, झोलुङ्गे पुलबाट ३२ जना तथा प्रहरी र अन्य निकायको समन्वयमा ५० जनाको उद्धार गरिएको उहाँले बताउनु भयो । उद्धार गरिएका मध्ये जातिगत विवरण अनुसार ७१ जना क्षेत्री, ५७ जना दलित, ३० जना जनजाति र १७ जना ब्राह्मण रहेका छन् । उद्धार गरिएका व्यक्तिहरु २० जिल्ला सम्मका रहेका छन् । सुदूरपश्चिम प्रदेशका मात्रै १ सय ५२ जना रहेका छन् ।

प्रदेशगत विवरण अनुसार कञ्चनपुरका ८३ जना, कैलालीका २३ जना, बैतडीका १० जना, डडेल्धुराका १० जना, डोटीका ७ जना, दार्चुलाका ७ जना, बझाङका ६ जना, अछामका ३ जना र बाजुराका ३ जना रहेका छन् । त्यस्तै, भारतबाट समेत ८ जनाको उद्धार गरिएको प्रतिवेदनमा उल्लेख छ् । भारतबाट उद्धार गरिएका मध्ये ७ जना बालिका र १ जना महिला रहेका छन् । उनीहरु दिल्लीबाट १ जना, गाजियाबादबाट २ जना, हरिद्वारबाट १ जना, चण्डीगढबाट १ जना, नैनीतालबाट १ जना, हैदराबादबाट १ जना र बैंगलोरबाट १ जना रहेका छन् ।

यसैगरी, आन्तरिक उद्धार तर्फ ७ जना बालिकाको उद्धार गरिएको माइती नेपाल आवधिक गृह कञ्चनपुरले जनाएको छ् । सामाजिक परीक्षण कार्यक्रम मार्फत संस्थाले वर्षभरि सञ्चालन गरेका उद्धार, संरक्षण तथा जोखिम न्यूनीकरण सम्बन्धी गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सेवा र कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएको छ् ।










