डिल्लीराज पन्त/कञ्चनपुर — विगत लामो समयदेखि विद्युतको लो भोल्टेज समस्याले हैरानी खेप्दै आएका भीमदत्त नगरपालिका–१२ को भगवती टोल लगायत विभिन्न टोलका स्थानीयवासी समस्या समाधानको माग गर्दै आन्दोलित भएका छन्।

मंगलबार स्थानीयवासीहरू समस्या लिएर भीमदत्त नगरपालिका–१२ को वडा कार्यालय पुगेका थिए। उनीहरूले वडा अध्यक्ष भूपेन्द्र सिंह रावलसँग भेट गरी विद्युत वितरण शाखा, महेन्द्रनगरमा संयुक्त रूपमा पुगेर समाधानको पहल गर्न आग्रह गर्ने योजना बनाएका थिए।

तर वडा कार्यालयमा वडा अध्यक्ष रावलसहित अन्य जनप्रतिनिधि समेत उपस्थित नभेटिएपछि स्थानीय आक्रोशित बनेका हुन्। स्थानीयवासीले लामो समयदेखि लो भोल्टेजका कारण दैनिक जनजीवन, व्यवसाय, विद्युतीय उपकरणको प्रयोग तथा खानेपानी व्यवस्थासमेत प्रभावित भएको गुनासो गरेका छन्।

जनप्रतिनिधिहरू जनतासँग सहकार्य गर्दै समस्या समाधानमा सक्रिय हुनुपर्ने भए पनि वडा कार्यालयमै अनुपस्थित हुनु दुःखद रहेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। स्थानीयले लो भोल्टेजको समस्या तत्काल समाधानका लागि सम्बन्धित निकाय र जनप्रतिनिधिको गम्भीर ध्यानाकर्षण गराएका छन्।










