झलारी : नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीको आयोजना तथा शुक्लाफाँटा नगरपालिकाको आर्थिक सहयोगमा आयोजित बृहत् रक्तदान कार्यक्रममा नौ जनाले रक्तदान गरेका छन्। कार्यक्रमको उद्घाटन शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महरा र उपप्रमुख कल्पना पन्तले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटनपछि उपप्रमुख पन्तले स्वयं रक्तदान गर्दै रक्तदान जीवन बचाउने सबैभन्दा ठूलो मानवीय सेवामध्ये एक भएकाले स्वस्थ नागरिकलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरका उपमन्त्री मधु बोहरा, जिल्ला शाखाका कार्यालय प्रमुख मनोज उप्रेती, शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्ट, स्वास्थ्य अधिकृत पदम महरा लगायतको उपस्थिति रहेको थियो। त्यसैगरी, शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेश धामी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सदस्य शिवराज भट्टसहित विभिन्न क्षेत्रका प्रतिनिधि र स्थानीयवासीले रक्तदानमा सहभागिता जनाएका थिए।

कार्यक्रमका वक्ताहरूले दुर्घटना, जटिल शल्यक्रिया, प्रसूति, दीर्घरोग तथा आकस्मिक उपचारका क्रममा रगतको अभाव हुने भएकाले स्वेच्छिक रक्तदानलाई सामाजिक अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको रेडक्रसकर्मी टेक बहादुर हमालले बताउनु भयो । नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीका सभापती लोकराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वीरसिंह धामीले गर्नुभएको थियो। कार्यक्रममा उपशाखाका पदाधिकारी, स्वयंसेवक लगायतको उपस्थिति रहेको थियो।











