झलारी : शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका चार सयभन्दा बढी परिवार चर्को गर्मीका बेला विद्युतको लो भोल्टेज समस्याबाट प्रभावित भएका छन् । एक सातादेखि भोल्टेज पर्याप्त नहुँदा पंखा, फ्रिज, सिँचाइका विद्युतीय मोटरलगायतका उपकरण प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् । स्थानीय भरतबहादुर बिष्टका अनुसार एक्कै छिनमा अत्यधिक (हाइ) भोल्टेज हुदा विद्युतीय सामग्रीमा क्षति पुग्ने गरेको छ भने त्यस पछिको अधिकांश समय लो भोल्टेजका कारण विद्युतीय उपकरण नचल्ने हुन्छन ।

“एक्कैछिनमा हुने लो भोल्टेजका कारण गर्मीमा पसिना–पसिना भएर बस्नुपरेको छ,” उहाँले भन्नुभयो, “रोपाइँको समय भएकाले सिँचाइका विद्युतीय मोटरसमेत चल्न सकेका छैनन् ।” किसान रामबहादुर धामीले मोटर नचल्दा रोपाइँ प्रभावित भएको बताउनुभयो । “रोपाइँका लागि खेतमा बेर्ना उखेलेका थियौँ,” उहाँले भन्नुभयो, “मोटरनै नचलेपछि खेतमा बेर्ना सुक्न थालेको छ ।” उहाँका अनुसार अनियमित विद्युत आपूर्तिका कारण घरभित्र पंखा नचल्ने भएकाले रातिको समयमा आँगनमै सुत्नुपर्ने बाध्यता रहेको छ ।

अर्का स्थानीय धनबहादुर चौधरीले पनि विद्युत समस्याका कारण रोपाइँ प्रभावित भएको बताउँदै सम्बन्धित निकायलाई जानकारी गराइसकिएको भए पनि समस्या समाधान हुन नसकेको गुनासो गर्नुभयो । यता नेपाल विद्युत प्राधिकरणको झलारीस्थित फ्युज सेवा केन्द्रका प्रमुख रामेश्वर भट्टले रोपाइँको सिजनमा सिँचाइका विद्युतीय मोटरको प्रयोग अत्यधिक प्रयोगले आवश्यक भोल्टेज पुग्न नसकेको बताउनुभयो । “लोड परीक्षण गरेका छौँ,” उहाँले भन्नुभयो, “वर्षा भएपछि विद्युतीय मोटरको प्रयोग घट्ने भएकाले केही हदसम्म समस्या समाधान हुन सक्छ ।” उहाँका अनुसार तत्कालका लागि कम लोड भएको ट्रान्सफर्मरबाट तार तानेर विद्युत आपूर्तिलाई सहज बनाउने प्रयास भइरहेको छ ।

भट्टले फ्युज सेवा केन्द्रबाट मर्मतसम्भारबाहेकका काम गर्न नमिल्ने उल्लेख गर्दै नयाँ ट्रान्सफर्मर जडान, नयाँ लाइन विस्तार तथा पोल थप्ने काम महेन्द्रनगरस्थित वितरण केन्द्रबाट हुने भएकाले समस्या सम्बन्धमा वितरण केन्द्रलाई जानकारी गराइसकिएको बताउनुभयो ।
उहाँका अनुसार सिमलफाँटासँगै खल्ला बस्ती, वन समिति र प्रगति टोल क्षेत्रमा पनि लो भोल्टेजको समस्या देखिएको छ । ती क्षेत्रमा समस्या समाधानका लागि नयाँ फेज थप्ने योजना अघि बढाइएको छ भने आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त काम सम्पन्न गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।










