कञ्चनपुर, तेजस्वी योग साधना केन्द्रले आफ्नो प्रथम वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम भीमदत्त नगरपालिका–१८ स्थित कञ्चनपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको थियो।

केन्द्रका संयोजक तथा महिला पतञ्जली योग समिति कञ्चनपुरकी अध्यक्ष भावना केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ समाजसेवी तथा महिला पतञ्जली योग समिति कञ्चनपुरकी सल्लाहकार नारा जोशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा पतञ्जली योग समितिका केन्द्रीय सदस्य लवराज भट्ट, जिल्ला अध्यक्ष दयाकृष्ण जोशी, जिल्ला उपाध्यक्ष ई. धनसिंह बढाल, कोषाध्यक्ष शम्शेरबहादुर चन्द लगायत विभिन्न योग साधना केन्द्रका संयोजक, योग प्रशिक्षक तथा योग साधकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा सांस्कृतिक प्रस्तुति, कविता वाचन तथा योग साधना केन्द्रको विकासमा योगदान पुर्याउने व्यक्तित्व र उत्कृष्ट योग साधकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नारा जोशीले योगले विभिन्न रोगबाट बचाउनुका साथै शरीरलाई स्वस्थ, तन्दुरुस्त र मानसिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै दैनिक जीवनमा नियमित योग अभ्यास गर्न सबैलाई आग्रह गर्नुभयो। कार्यक्रमका अध्यक्ष भावना केसीले केन्द्र स्थापना भएको एक वर्षको अवधिमा योगप्रति जनचासो बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले योग प्रशिक्षण तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।










