झलारी : शुक्लाफाँटा नगरपालिका–१ रामनगरस्थित कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका अति विपन्न दलित तथा जनजाति समुदायका ९० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको छ । लक्ष्मी विकास बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्रीका रूपमा विद्यालय झोला वितरण गरिएको हो। बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख खगेन्द्रबहादुर साउद, कर्जा शाखा प्रमुख टेकराज जोशी र बैलौरी शाखा प्रमुख डम्बरनाथ ओझालगायतले विद्यालयमै पुगेर विद्यार्थीलाई झोला हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख साउदले शिक्षामा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्न सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विपन्न समुदायका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक गोवद्र्धन घिमिरेले बैंकले गरेको सहयोगले विपन्न परिवारका विद्यार्थीलाई ठूलो राहत पुगेको बताउनुभयो ।

उहाँले समुदायसँगको सहकार्यले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोगी संस्थाप्रति आभार प्रकट गर्नुभयो । विद्यालयका शिक्षक पुष्पराज भट्टले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई प्रदान गरिएको सहयोगले उनीहरूमा विद्यालयप्रति थप उत्साह र आत्मविश्वास बढ्ने बताउनुभयो । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विद्यार्थीको नियमित पठनपाठनमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित तथा जनजाति समुदायका रहेका छन । वितरण गरिएको झोलाले विद्यार्थीको शैक्षिक विसकामा टेवा पुग्ने विश्वास गरिएको छ ।











