रेडियन्ट माध्यमिक विद्यालयद्वारा प्राचीन सिद्धनाथ मन्दिरको स्थलगत भ्रमण सम्पन्न


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको रेडियन्ट माध्यमिक विद्यालयले कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि एक दिवसीय स्थलगत भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले मंगलबार ब्रह्मदेवमा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण प्राचीन सिद्धनाथ मन्दिरको स्थलगत भ्रमण गराएको हो । विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी बाहिरी वातावरणसँग घुलमिल गराउने र व्यावहारिक सिकाइको अवसर प्रदान गर्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्दिरका पुजारी भोजराज पन्तले विद्यार्थीहरूलाई सिद्धनाथ मन्दिरको प्राचीन इतिहास, यसको उत्पत्ति, मूल पुजारी र पूर्णागिरीको दर्शनसँग जोडिएको यस क्षेत्रको धार्मिक गरिमाका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर चन्दले “विद्यार्थीहरूमा सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक र सामाजिक चेतनाको विकास हुन जरुरी रहेकाले स्थानीय स्तरमा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रहरूको प्रत्यक्ष जानकारी दिनका लागि स्थलगत भ्रमण गराइएको बताउनुभयो ।

धार्मिक एवं ऐतिहासिक क्षेत्रको स्थलगत अवलोकन गर्ने अवसर प्रदान गरेकोमा विद्यालय प्रशासनप्रति कृतज्ञता व्यक्त गर्दै कक्षा १० की छात्रा मेधा थापाले किताबी ज्ञानमा मात्रै सिमित नभई प्रत्यक्ष रूपमा हेर्न र बुझ्न पाउँदा सिकाइ अझ प्रभावकारी र दिगो हुने बताउँदै आगामी दिनहरूमा पनि विद्यालयले यस्ता रचनात्मक क्रियाकलापहरू समय-समयमा आयोजना गरिरहनुपर्नेमा जोड दिनुभयो । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक लोकेन्द्र भट्ट र शिक्षक रोशन भट्टको नेतृत्वमा सम्पन्न भएको उक्त शैक्षिक तथा धार्मिक अवलोकन भ्रमणमा कक्षा ९ र १० का गरी जम्मा ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img