कञ्चनपुर: महाकाली साहित्य सङ्गम केन्द्रीय समिति, कञ्चनपुरको आयोजनामा सञ्चालन भइरहेको “हमरि संस्कृति, हमरि पछ्याण” अभियानअन्तर्गत महाकाली सभ्यता र प्रकृति संरक्षणका लागि आयोजित क्याराभान कार्यक्रमको दोस्रो दिन वातावरण संरक्षणसम्बन्धी विविध कार्यक्रम सम्पन्न भएका छन्।

शनिबार भीमदत्त नगरपालिका–११ स्थित श्री सिद्धनाथ अमर माध्यमिक विद्यालयको सभाहलमा “महाकाली नदी तटीय क्षेत्र हरियाली पदयात्रा–२०८३” कार्यक्रम आयोजना गरिएको हो। “प्रकृतिको रक्षा नै मानवताको रक्षा हो, हरियो महाकाली, समृद्ध भविष्य” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले चित्रकला प्रतियोगिता, वृक्षारोपण तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रदर्शनी सम्पन्न गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, श्री सिद्धनाथ अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक चूडामणि जोशी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको चित्रकला प्रतियोगितामा वातावरण संरक्षण, महाकाली नदीको महत्व, हरियाली प्रवर्द्धन तथा प्राकृतिक सम्पदाको संरक्षणसम्बन्धी विषयवस्तु समेटिएका सिर्जनात्मक चित्रहरू प्रस्तुत गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
साउन १५ गतेदेखि सुरु भएको उक्त अभियानअन्तर्गत महाकाली नदी तटीय क्षेत्रमा पदयात्रा, वृक्षारोपण, वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन भइरहेका छन्। अभियानले महाकाली सभ्यता, प्राकृतिक सम्पदा तथा स्थानीय संस्कृतिको संरक्षणमा समुदायको सक्रिय सहभागिता अभिवृद्धि गर्ने विश्वास आयोजकको रहेको छ।










