महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरमा तिनदिने राजनीतिक साक्षरता तालिम सम्पन्न भएको छ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक (एलजिबिटीक्यूए प्लस) समुदायको सुरक्षित तथा अर्थपूर्ण राजनीतिक सहभागिता र प्रतिनिधित्वलाई सशक्त बनाउने उद्देश्यले आयोजित तीनदिने प्रादेशिक राजनीतिक साक्षरता तालिम बिहीबार सम्पन्न भएको हो।

“लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सुरक्षित तथा अर्थपूर्ण राजनीतिक सहभागिता र प्रतिनिधित्व” भन्ने मुख्य विषयमा सञ्चालन गरिएको तालिममा मानव अधिकार रक्षक, एलजिबिटीक्यूए प्लस समुदायका सदस्य, नागरिक समाजका प्रतिनिधि तथा युवा नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो।

महेन्द्रनगरस्थित होटल चेतनमा सेप्टेम्बर १५ देखि १७, २०२६ अर्थात् भाद्र ३० गतेदेखि असोज १ गतेसम्म सञ्चालन भएको तालिम निल हिरा समाजको आयोजनामा गौरव (प्राइड) परियोजना अन्तर्गत सम्पन्न भएको हो। कार्यक्रमलाई युरोपियन युनियनको वित्तीय सहयोग तथा डीसीए नेपालको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ।
तालिममा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न क्षेत्रबाट सहभागीहरूको उपस्थिति रहेको थियो। तालिममार्फत एलजिबिटीक्यूए प्लस समुदायका व्यक्तिहरूलाई राजनीतिक प्रक्रियामा सुरक्षित, समान र अर्थपूर्ण रूपमा सहभागी हुन आवश्यक ज्ञान, सीप तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको थियो।
तीन दिनसम्म सञ्चालन भएको तालिममा समुदायको राजनीतिक सहभागिता तथा प्रतिनिधित्वमा देखिएका चुनौती, अधिकारको संरक्षण, नेतृत्व विकास, राजनीतिक प्रक्रियामा सहभागिताका अवसर तथा सुरक्षित सहभागिताका उपायलगायत विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।
तालिमले समुदायका सदस्यहरूलाई आफ्नो अधिकार र राजनीतिक भूमिकाबारे थप सचेत बनाउँदै आगामी दिनमा राजनीतिक सहभागिता र प्रतिनिधित्वलाई प्रभावकारी बनाउन सहयोग पुग्ने सहभागीहरूले बताएका छन्।
सहभागीहरूले तालिमबाट राजनीतिक अधिकार, नेतृत्व क्षमता तथा सहभागितासम्बन्धी महत्वपूर्ण ज्ञान प्राप्त भएको बताउँदै समुदायको आवाजलाई नीति निर्माण तथा राजनीतिक प्रक्रियामा थप प्रभावकारी रूपमा स्थापित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका छन्।











