महेन्द्रनगर: कञ्चनपुर जिल्लामा पहिलो पटक फुटबल प्रशिक्षण प्रशिक्षक तालिम सञ्चालन हुन लागेको छ।

जिल्ला फुटबल संघको आयोजना दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोगमा तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको “एन्फा कम्युनिटी कोर्ष–२०२६” को उद्घाटन कार्यक्रम भोलि असार १ गते महेन्द्रनगरमा आयोजना हुने भएको छ।

जिल्ला फुटबल संघका अनुसार २०८३ असार १ देखि ४ गतेसम्म महेन्द्रनगरस्थित खुला मञ्चमा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन होटेल न्यू आनन्दको सभाहलमा गरिने कार्यतालिका रहेको छ।

कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दका अनुसार जिल्लामा रेफ्री प्रशिक्षण कार्यक्रम यसअघि वि.सं. २०६०, ०७४ र ०८२ सालमा सफलतापूर्वक सम्पन्न भइसकेका छन्। फुटबलको आधारभूत विकास, प्रशिक्षक उत्पादन तथा खेलकुद क्षेत्रको क्षमता अभिवृद्धिका लागि यस प्रकारका कार्यक्रमहरू महत्वपूर्ण रहेको अध्यक्ष चन्दले बताउनुभयो।
फुटबल प्रशिक्षक प्रशिक्षण तालिम २०८३ असार ०१ गते बिहान ८:०० बजे होटल न्यू आनन्द, सभा हलमा उद्घाटन हुने कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो। उनका अनुसार, प्रशिक्षक प्रशिक्षण तालिम असार १ देखि ४ गते सम्म सञ्चालन हुने छ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुरा, डोटी तराईका कैलाली कञ्चनपुर लगायतका विभिन्न क्षेत्र बाट इच्छुक प्रशिक्षार्थीहरु लाई समावेश गरिएको संघले जनाकरी दिएको छ।
महेन्द्रनगर कञ्चनपुर जिल्लामा फुटबल खेलको विकास र प्रशिक्षक उत्पादनमा योगदान पुर्याउने उद्देश्यले सञ्चालन हुन लागेको यस प्रशिक्षण कार्यक्रमप्रति खेलप्रेमी तथा सरोकारवालाहरूको विशेष चासो रहेको छ।






