सौतेनी आमाको हत्या प्रकरण : मुख्य आरोपित हरि प्रसाद श्रेष्ठ भारतको बरेलीबाट पक्राउ


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सौतेनी आमा र बहिनीमाथि खुकुरी प्रहार गरी एक जनाको हत्या तथा एक जनालाई गम्भीर घाइते बनाएको घटनाका मुख्य आरोपितलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार साँझ दोधाराचाँदनी नगरपालिका वडा नम्बर ४ सुर्खेती टोलका अन्दाजी ५५ वर्षीय हरिप्रसाद श्रेष्ठले आफ्नै सौतेनी आमा ७५ वर्षीया बिन्द्रा श्रेष्ठको हत्या गरेका थिए भने ५० वर्षीया भगवतीदेवी माझीलाई गम्भीर घाइते बनाएका थिए ।

घटनापछि फरार रहेका श्रेष्ठलाई खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोली र भारतीय सुरक्षाकर्मीको समन्वयमा भारतको बरेलीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो । पक्राउपछि उनलाई कानुनी प्रक्रिया अनुसार नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा गम्भीर घाइते भएकी भगवतीदेवी माझीलाई प्रारम्भिक उपचारपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आज थप उपचारका लागि भारतको भोजिपुरा लगिएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीका अनुसार पुरानो जग्गा जमिन सम्बन्धी विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


ताजा समाचार

spot_img