दोधारा । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका सबै वडाहरुमा मतदाता शिक्षा कार्यक्रम तीव्र पारिएको छ् । फागुन ३ गते देखि सुरु भएको यस कार्यक्रमको मुख्य उद्देश्य मतदानका क्रममा हुनसक्ने मत बदरलाई रोक्नु र मतदाताहरुलाई सही तरिकाले मतदान गर्न सिकाउनु रहेको छ् । दोधारा चाँदनी नगरपालिकाको १ देखि १० वडामा गरि १० जना स्वयंसेवकहरु खटिएर प्रभावकारी रुपमा यो शिक्षा प्रदान गरिरहेको मतदाता शिक्षा स्वयंसेवीका बुद्धी कठाएतले बताउनुभएको छ् । पहिले बस्ती–बस्तीमा पुगेर दिइने यस्तो शिक्षा अहिले घर–घरमै पुगेर सिकाउने गरिएको उहाँले बताउनुभयो ।

मतदाताहरुलाई शैक्षिक सामग्री मार्फत मत बदर नहुने तरिका र आफ्नो मत आफैले खसाल्ने लगाएतका विषयमा सहजीकरण भईरहेको मतदाता शिक्षा स्वयंसेवीका बुद्धी कठाएतले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ का मतदाता टिकाराम ढकालले समयमै स्वयंसेवकहरु घरमा आएर शिक्षा दिएकोमा खुसी व्यक्त गर्दै यसले निर्वाचनमा मत बदर हुनबाट जोगाउने विश्वास व्यक्त गर्नुभयो ।

विशेष गरी वृद्धवृद्धा, पहिलो पटक मतदान गर्ने युवा तथा महिलाहरुलाई लक्षित गरेर व्यवहारिक अभ्यास सहित शिक्षा दिईदा सकारात्मक प्रभाव परेको टिकाराम ढकालले बताउनुभएको छ् ।

फागुन १७ गते सम्म स्वयंसेवकहरुले दोधारा चाँदनी नगरपालिकाको गाँउ, बस्तीमा पुगेर मतदाता शिक्षा दिने कार्यक्रम रहेको बताईएको छ् ।






