कञ्चनपुर : कञ्चन विद्या मन्दिर सेकेण्डरी स्कुल तथा कञ्चन विद्या मन्दिर सामुदायिक कलेज ले संयुक्त रूपमा आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेका छन्। माध्यमिक विद्यालयको ४६ औँ तथा सामुदायिक कलेजको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको थियो।
कञ्चन विद्या मन्दिर कञ्चनपुरको एकमात्र क्यूएए प्राप्त कलेज हो । यहाँ नर्सरी देखि बिबिए सम्म १ हजार ७ सय ५७ विद्यार्थी रहेका छन् ।

धेरै आरोह–अवरोध पार गर्दै विद्यालयले वर्तमान उपलब्धि हासिल गरेको हो। कलेजका प्रधानाध्यापक डा. राजकुमार साँउदको नेतृत्वमा संस्थाले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण सफलता प्राप्त गरेको छ। शिक्षासँगै विद्यार्थीहरूमा धर्म, संस्कृति र अनुशासनप्रति रुचि जगाउने कार्यमा पनि विद्यालयले विशेष ध्यान दिएको छ। कार्यक्रम प्रारम्भमा कक्षा ९ मा अध्ययनरत समिक्षा पन्तले संस्कृत भाषामा आफ्नो परिचय प्रस्तुत गर्दै भजन गायन गरेकी थिइन्। वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यार्थीहरूले धर्म–संस्कृतिको संरक्षण र प्रवद्र्धन झल्कने नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए ।

विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम विष्टको सभापत्विमा प्रमुख अतिर्थी पंतञ्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र रहनु भएको थियो, कार्यक्रममा स्वागत मन्तव्य सह प्रध्यापक यज्ञराज जोशीले गर्नु भएको थियो भने विद्यालयको प्रतिवेदन विद्यालयका प्रधानाध्यापक डा. राजकुमार साउदले गर्नु भएको थिये । कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







