दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नि:शुल्क डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र साक डिजिटल युनिभर्सिटी प्रालि.को सहकार्यमा युवा, युवतीहरुलाई लक्षित गरि २० दिने नि:शुल्क डिजिटल मार्केटिङ सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । डिजिटल युगमा युवाहरुलाई प्रवधी संग जोड्न र उनीहरुलाई आत्मनिर्भर बनाउनु तालिम सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

युवाको सीप विकास र अवसर सिर्जनाका लागि आफुहरु सधैं अगाडी रहेको र डिजिटल मार्केटिङ जस्तो आधुनिक सीप सिक्न पाए युवाहरुलाई रोजगार तथा उद्यमशीलताको ढोका खुल्ने नगर प्रमुख लिम्बुको भनाई रहेको छ् । नि:शुल्क डिजिटल मार्केटिङ तालिम समापन सत्रमा तालिमका सहभागी बबिता पालले नगर क्षेत्रमा पहिलो पटक युवा, युवतीहरुले डिजिटल मार्केटिङ, ब्रान्ड प्रवद्र्धन, सामाजिक सञ्जाल प्रवन्धन, अनलाईन विज्ञापन जस्ता उपयोगी ज्ञान हासिल गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभएको छ् ।

युवाहरुलाई डिजिटल मार्केटिङ संग जोड्नका लागि दोधारा चाँदनी नगरपालिका कार्यालयले गरेको कार्य उत्साहजनक रहेको तालिमका सहभागी बबिता पालले बताउनुभयो । यस्ता समय सापेक्ष, परिणाममुखी र प्रविधिमैत्री सीप विकास कार्यक्रमलाई दोधारा चाँदनी नगरपालिकाले अगाडी बढाउदै जानु पर्ने पालको भनाई छ् ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. ५ मा रहेको भानु बहुमुखी क्याम्पसको सञ्चालन भएको नि:शुल्क डिजिटल मार्केटिङ तालिममा नगर क्षेत्रको ४० जना युवा, युवती सहभागी रहेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।






