कञ्चनपुर : राष्ट्रिय एकता दिवस तथा ३०४औँ पृथ्वी जयन्तीको अवसर पारेर दुई मितले आपसी मित्रतालाई अझ बलियो बनाउँदै समाज कल्याण अञ्चल बाल अनाथालयका बालबालिकासँग उक्त दिवस मनाएका छन्।

समाज कल्याण अञ्चल बाल अनाथालयका संस्थापक तथा पूर्व वार्डेन भीमदत्त नगरपालिका–०४ निवासी गोरख बहादुर चन्द र भारतको चम्पावत जिल्ला, ग्राम पोस्ट विपिल निवासी कल्यान सिंहले आफ्नो बाल्यकालमा लगाएको मितलाई अझ प्रगाढ बनाउँदै राष्ट्रिय एकता दिवस तथा ३०४औँ पृथ्वी जयन्तीको अवसरमा अनाथालयलाई सहयोग प्रदान गरेका हुन्। सो अवसरमा उनीहरूले खाजा, खाद्य सामग्री, पाठ्य सामग्री तथा खेलकुद सामग्री वितरण गरेका थिए।

कार्यक्रममा साहित्यिक व्यक्तित्व तथा शिक्षक लक्ष्मीप्रसाद भट्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी गोरख बहादुर चन्दले “जसको कोही छैन, उसको भगवान हुन्छन्” भन्ने उक्ति स्मरण गर्दै अनाथ बालबालिकाका लागि समाजका धेरै हातहरूको माया र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “म पनि अनाथ हुँ। म सानो हुँदा मेरी आमाको निधन भएको हो। सबै मानिस जीवनको कुनै न कुनै मोडमा अनाथ हुन्छन्, तर सानै उमेरमा अनाथ हुँदा आमाबुबाको माया मात्र होइन, धेरै कुराको त्याग गर्नुपर्छ।”
सोही अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कार्यसमिति सदस्य तथा कल्पना लेखक जगदीश विष्टले त्यहाँ रहेका बालबालिकालाई सिसाकलम उपलब्ध गराउनुभएको थियो भने सुरेन्द्र बहादुर चन्दले एक बोरा आलु सहयोग गर्नुभएको थियो।दिवस तथा ३०४ औं पृथ्वी जयन्ती






