कञ्चनपुर : महाकाली आयुर्वेद औषधालय कञ्चनपुरले ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै स्वर्णबिन्दु प्राशन खुवाउने राष्ट्रिय कार्यक्रमको औपचारिक उद्घाटन गरेको छ। मंसिर २२ गतेदेखि सुरु गरिएको यो कार्यक्रम प्रत्येक महिनाको पुष्य नक्षत्र मा नियमित रूपमा सञ्चालन हुनेछ।

औषधालयका प्रमुख तथा कार्यक्रम अध्यक्ष डा. सुर्य उपाध्यायका अनुसार आगामी मासिक तालिका यस प्रकार छ—पुष २१, माघ १८, फाल्गुन १७, चैत्र १४, २०८३ बैशाख ११, जेठ ७, असार ४ र असार ३१। कार्यक्रम प्रत्येक दिन बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म औषधालय परिसरमै सञ्चालन हुनेछ।

डा. उपाध्यायका अनुसार स्वर्णबिन्दु प्राशनले बालबालिकामा स्मरणशक्ति, एकाग्रता, पाचन शक्ति, शारीरिक बल तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने मान्यता रहेको छ। यसले सङ्क्रमणबाट जोगाउन, दीर्घकालीन स्वास्थ्य मजबुत बनाउन र समग्र विकासमा मद्दत गर्ने उनले बताए। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभाका सभासद माधु भारतीले बालबालिकालाई आयुर्वेदिक उपायहरूको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउन सकिने उल्लेख गर्दै आयुर्वेदिक ज्ञानबारे सबै अभिभावक सचेत हुनुपर्नेमा जोड दिए।

विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहराले आयुर्वेदिक जडीबुटीको उपयोगिता बढिरहेको भए पनि रासायनिक मल, विषादी तथा किटनाशकको अत्यधिक प्रयोगका कारण जडीबुटीहरूको अस्तित्व जोखिममा परेको भन्दै संरक्षणमा ध्यान दिन आग्रह गरे। कार्यक्रमको पहिलो दिन औषधालय परिसरमा अभिभावक र बालबालिकाको ठूलो भीड देखिएको थियो। धेरै बालबालिकाले स्वर्णबिन्दु प्राशन ग्रहण गरेको र अभिभावकको उत्साहजनक सहभागिता देखिएको डा. उपाध्यायले जानकारी दिए।






