दोधारा । धनगढीमा प्रदेश स्तरीय मनसुन समिक्षा तथा हिउदे प्रकोपको पूर्वतयारी सम्बन्धी अन्तरक्रियन कार्यक्रम २०८२ सम्पन्न भएको छ् । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाको आयोजना तथा मर्सिकोर नेपाल, युनिसेफ नेपाल, यूएनडीपी, युरोपियन युनियन, युएन वुमन, हेन्डिक्याप इन्टरनेशनल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । २०८२ सालको मनसुन पछिको समिक्षा तथा आगामी हिउदे प्रकोपलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की उपस्थित रहनुभएको थियो । कार्यक्रमको अध्यक्षता जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जय कुमार साहले गर्नुभएको थियो ।


अन्तरक्रियामा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, स्थानीय तह, जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया साथै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) लगायतका विभिन्न साँझेदार संघ–संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जय कुमार साहले २०८२ सालमा देखिएको मौसमको अवस्था बारे विस्तृत प्रस्तुति दिदै प्रदेशमा मनसुनजन्य जोखिमको समीक्षा गर्ने तथा हिउदे प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

प्रदेश विपद् व्यवस्थापन समितिका पाँच वटा क्लस्टरहरुले आ–आफ्ना कार्य तथा अनुभव प्रस्तुत गरेका थिए । त्यस्तै, स्थानीय तहको तर्फबाट लालझाडी गाँउपालिका, कैलारी गाँउपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकाले विपद् व्यवस्थापन सम्बन्धी आफ्ना अनुभव, चुनौती र सिकाइहरु साँझा गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले प्रदेशका सबै निकायहरु पूर्व तयारी अवस्थामा रहेको उल्लेख गर्नुभयो । प्रभावकारी पूर्व तयारीका कारण गत मनसुनमा मानवीय तथा भौतिक क्षति न्यूनिकरण गर्न सकिएको उहाँको भनाई थियो । उहाँले विपद् जोखिम न्यूनीकरणका लागि सबै निकाय एकजुट भएर काम गर्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै, यूएनडीपीका प्रदेश प्रमुख बैजन्ती गिरीले सुदूरपश्चिम प्रदेशमा विपद् जोखिम न्यूनीकरणका लागि यूएनडीपी सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा मौसमविद् अखिलेश चौरसियाले आगामी मौसम पूर्वानुमान सम्बन्धी जानकारी दिनुभएको थियो, भने हिउदे प्रकोपको पूर्व तयारीका विषयमा मौसम विज्ञद्वारा विशेष प्रस्तुति समेत दिइएको थियो ।
यस अन्तरक्रिया कार्यक्रमले सुदूरपश्चिम प्रदेशमा मनसुनपछिको अनुभवबाट पाठ सिक्दै हिउदे प्रकोपको जोखिम न्यूनीकरणका लागि पूर्व तयारीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ् ।






