महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा अपाङ्गता दिवसको पुर्व सन्ध्यामा महेन्द्रनगरमा दीप प्रज्वलन गरिएको छ।

“अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको सम्बर्द्धन” भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको ३४औँ अन्तर्राष्ट्रिय दिवस २०२५ को पूर्वसन्ध्यामा महेन्द्रनगरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

अपाङ्गता क्षेत्रमा कार्यरत सबै गैरसरकारी संघ–संस्थाको समन्वयमा तथा भीमदत्त नगरपालिकाको कार्यालयको आर्थिक सहयोगमा अपाङ्गता सम्बन्धी स्थानीय समन्वय समिति, भीमदत्त नगरपालिकाले महेन्द्रनगरको मदनचोकस्थित भेटघाट चौतारीमा दीप प्रज्वलनको आयोजना गरेको हो।

कार्यक्रमका बारेमा जानकारी दिदै अपाङ्गता अधिकारकर्मी उपेन्द्र खडायतले अपाङ्गता भएका व्यक्तिहरुप्रति सम्मान, समावेशिता र अधिकार प्रत्याभूत गर्न समुदाय स्तरमै यस्तो कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।
दीप प्रज्वलन कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, विभिन्न संघ–संस्थाका सदस्य तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो।







