पुनर्बास नगरपालिकाको स्वास्थ्य शाखाद्वारा निःशुल्क सुगर जाँच तथा परामर्श कार्यक्रम

पुनर्बास : बिश्व मधुमेह दिवसको अवसर पारेर कञ्चनपुरको पुनर्बास नगरपालिकाको स्वास्थ्य शाखाद्वारा निःशुल्क सुगर जाँच तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी स्थानीय नागरिकले मधुमेह जोखिम मूल्यांकन, सुगर जाँच, तथा स्वस्थ जीवनशैली सम्बन्धी परामर्श जस्ता सेवा पूर्ण रूपमा निःशुल्क प्राप्त गरेको पुनर्वास नगरपालिकाका जनस्वास्थ्य अधिकृत यज्ञ खड्काले जानकारी दिनुभयो ।

यस अभियान अन्तर्गत झन्डै ६० जनाको सुगर जाँच तथा परामर्श गरिएको जनस्वास्थ्य अधिकृत उहाँले बताउनुभयो । कार्यक्रम पुनर्वास ३ स्थित ६५ बिघा स्थित खेल मैदानमा सञ्चालन गरिएको थियो भने पछि नगरपालिकाभित्र कार्यरत कर्मचारीहरूको समेत सुगर जाँच गरिएको थियो पुनर्वास नगरपालिकाका स्वास्थ्य संयोजक रामबहादुर धामीले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्मा र उप–प्रमुख भुलिया कुमारी रानाको समेत सुगर परीक्षण गरिएको थियो । जाँचका क्रममा केही व्यक्तिमा नया सुगरका बिरामी पत्ता लागेको स्वास्थ्य संयोजक धामीले जानकारी दिनुभयो । सो कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले यस्ता जनस्वास्थ्य कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नागरिकको स्वास्थ्य सँग जोडिएका कार्यक्रमहरू गर्न स्वास्थ्य शाखाले निरन्तरता दिनेमा उहाँले जोड दिनुभयो ।

मधुमेह चेकजाँच शिविरमा आवश्यक सबै सामग्रीहरु त्रिभुवन स्वास्थ्य चौकीका प्रयोगशाला इन्चार्ज जनक धामीले उपलब्ध गराउनु भएको थियो । साथै मधुमेह परीक्षण कार्य पनि उहाँकै नेतृत्वमा सम्पन्न भएको थियो । कार्यक्रमको क्रममा नगर उपप्रमुख भुलिया कुमारी रानाले पछिल्लो समय नसर्ने रोगको जोखिम बढ्दै गएकोले स्वास्थ्य शाखालाई यस्ता जनचेतनामूलक तथा अग्रिम जाँच कार्यक्रमलाई प्राथमिकता दिन निर्देशन दिनुभयो । उहाँले नगरपालिकाबाट यस्ता स्वास्थ्य कार्यक्रम सञ्चालनमा कुनै कमी हुन नदिने आश्वासन समेत दिनुभयो ।

ताजा समाचार

spot_img