कञ्चनपुर : नेकपा एमालेका पुर्व उपाध्यक्ष भीम रावल पनि नेपाली कम्युनिष्ट पाटीमा समाहित भएका छन । ०७८चितवनमा एमाले १०औँ महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि मातृभूमि अभियान संचालन गरेका रावल बुधबार प्रचण्ड, माधव नेपाल नेतृत्वको नेपाली कम्युनिष्ट पाटीमा समाहित भएका हुन । २६ कार्तिक काठमाण्डौमा भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टीबिच सातबुँदे सहमति भएको छ ।

घोषणा सभाअघि नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र अभियानका संयोजक भीम रावलले औपचारिक रूपमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, नेता रावलको जिम्मेवारीबारे आपसी सहमतिमा गर्ने, पार्टीको विधान, राजनीतिक प्रतिवेदनहरू सहमतिमा नै तयार पार्ने पत्रमा उल्लेख छ । रावलसंगै एमाले नेता प्रकास शाहपनि उक्त दलमै गएका छन । एकता कार्यक्रममा भीम रावलले अब बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गरेर अघि बढ्ने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन हस्ताक्षर गरेपछि बोल्दै अब पार्टी संगठनलाई बलियो बनाएर लैजाने बताए । उनले नेकपा विभाजनको प्रसंग पनि सम्झिए ।उनले भने, ‘जुन वेला नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिक्रियावादीहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि विभाजन गरेर गह्रौँ मन लिएर यही ठाउँबाट छुट्टिएर गएका थियौँ ।

आज फर्किएर नेपाली कम्युनिस्ट पार्टीअन्तर्गत यहाँ छौँ । त्यो विछोडको आलो घाउमा मल्हम लागेको महसुस भइरहेको छ ।’ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले यस्तो दाबी गरेका हुन् । उनले नेकपा एमाले अध्यक्ष केपी ओलीले हावादारी कुरा गर्ने गरेको बताउँदै एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा आउने विश्वास व्यक्त गरे ।उनले नेपाली कम्युनिस्ट पार्टीमा १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको बताए । गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरूले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन् । नेपाली कम्युनिष्ट पाटीले थप कम्युनिष्ट धारका दलहरुलाई समाहित हुन आब्हान गरेको छ ।







