झलारी : शुक्लाफाँटा नगरपालिका अहिले युवाको उत्साह, एकता र जिम्मेवारीले नयाँ बाटोमा अघि बढ्दै छ । जेनजी आन्दोलनबाट आएको परिवर्तनको लहर स्थायी र संस्थागत बनाउनका लागि यहाँका युवाहरुले ‘युथ अफ शुक्लाफाँटा’ नामक साझा संगठन स्थापना गरी सुशासन र सामाजिक रुपान्तरणको अभियान अघि सारेका छन् संस्थाका कोर समितिका सदस्य विवेक रावल भन्छन् — “अब परिवर्तनको कुरा गर्ने मात्र होइन, त्यसलाई व्यवहारमा उतार्ने समय आएको छ । हाम्रो उद्देश्य हो — पारदर्शी, सचेत र सहिष्णु समाज निर्माण गर्ने।” संस्थाले प्रारम्भिक चरणमै सुशासन र पारदर्शितालाई प्रमुख एजेण्डा बनाएको छ । स्थानीय तह र सार्वजनिक संस्थाहरुमा हुने अनियमितता, ढिलासुस्ती र गैरजिम्मेवारीताविरुद्ध युवाहरु सचेतना र खबरदारी अभियान सञ्चालन गर्दैछन् ।

रावलका अनुसार संस्था “नागरिकको सहभागिता बढाएर निर्णय प्रक्रियामा पारदर्शिता ल्याउने” लक्ष्यसहित अघि बढेको छ । युवाहरुलाई सचेत र उत्तरदायी नागरिकको भूमिकामा प्रेरित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए । शुक्लाफाँटा क्षेत्रको सामाजिक संरचनामा अझै पनि विभेद, अन्धविश्वास र असमानताको समस्या देखिन्छ । युथ अफ शुक्लाफाँटाले यी समस्यालाई सम्बोधन गर्न समुदायमा सचेतना फैलाउने अभियान अघि सारेको छ । संस्थाले जातीय, लैङ्गिक वा आर्थिक कारणले हुने विभेद अन्त्यका लागि संवाद, जनचेतना र सहकार्यका कार्यक्रम सञ्चालन गर्दैछ । समुदायका सदस्यबीच आपसी समझदारी, एकता र सहिष्णुताको वातावरण निर्माणमा युवाहरु सक्रिय हुँदैछन् । युथ अफ शुक्लाफाँटा केवल नारा र छलफलमै सीमित छैन । संस्थाका सदस्यहरु प्रत्यक्ष सामाजिक सेवामा समेत सक्रिय छन् । रक्तदान कार्यक्रम, सरसफाई अभियान, विपद् व्यवस्थापन, असहाय र पीडितको सहयोग, र वृक्षारोपण अभियानमार्फत युवाहरुले मानवता र सेवा भावनाको उदाहरण प्रस्तुत गर्दै आएका छन् । त्यो मात्र होइन, बाटो, ढल, पार्क, पुस्तकालय, खेल मैदान, सामुदायिक भवनजस्ता पूर्वाधार निर्माण र मर्मतमा पनि संस्थाको सहयोग रहनेछ ।

“हामी समाजको स–साना आवश्यकताबाट सुरु गरेर दीगो परिवर्तनका लागि काम गर्न चाहन्छौं,” संयोजक रावल भन्छन् । संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत योगदान पुर्याउने लक्ष्य लिएको छ । विद्यालयमा अध्ययन–अध्यापन गुणस्तर सुधार, छात्रवृत्ति कार्यक्रम, स्वास्थ्य शिविर र जनस्वास्थ्य सचेतना अभियान सञ्चालन गरिनेछ । युवाहरुलाई सशक्त बनाउन नेतृत्व, वक्तृत्व, निर्णय क्षमता र व्यवस्थापन सीप विकासका तालिम, कार्यशाला र सेमिनार सञ्चालन गरिनेछ । नयाँ पुस्तालाई जिम्मेवार, सक्षम र सकारात्मक नेतृत्वकर्ताको रूपमा तयार पार्ने लक्ष्य संस्था लिएको छ । शुक्लाफाँटा जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हो । युथ अफ शुक्लाफाँटाले यो सम्पदाको संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ । संस्थाले बृक्षारोपण, फोहर व्यवस्थापन, प्लाष्टिकमुक्त अभियान, जलाधार संरक्षण र हरियाली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै वातावरण संरक्षणमा युवाको सहभागिता बढाउँदैछ ।

“पर्यावरण हाम्रो भविष्य हो, यसलाई जोगाउनु नै हामी युवाको कर्तव्य हो,” संस्थाका एक सदस्यले भने । संस्थाले स्थानीय कला, संगीत, नृत्य, लोकसंस्कृति र परम्परागत सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । साथै, शुक्लाफाँटा क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूको प्रचार–प्रसारमा युवाहरुलाई परिचालित गरिँदैछ । सांस्कृतिक कार्यक्रम र पर्यटन प्रवद्र्धनमार्फत क्षेत्रको पहिचान र आर्थिक विकासमा योगदान पुर्याउने योजना पनि संस्थाको रहेको छ । संस्थाले समाजमा व्याप्त महिला हिंसा, बालश्रम, जातीय विभेद र अन्य सामाजिक अन्यायका विरुद्ध पनि आवाज उठाउने जनाएको छ । पीडितको अधिकारको संरक्षण र न्याय सुनिश्चितताका लागि युवाहरु सचेतना फैलाउने र सहकार्य गर्नेछन् । संस्थाले नागरिकलाई जिम्मेवारी र उत्तरदायित्वबोध गराउँदै न्याय, समानता र मानव अधिकार प्रवद्र्धन गर्ने दीर्घकालीन उद्देश्य राखेको छ । शुक्लाफाँटाका युवाहरुले अब परिवर्तनका कुरा होइन, काम गर्ने घोषणा गरेका छन् । उनीहरुको साझा सोच छ — “सशक्त युवा, सुशासित समाज।”
