झलारी : कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लिं झलारी क्षेत्रको एकाइगत साधारणसभा बैठक तथा निर्णय प्रमाणीकरण सभा आज शुक्लाफाँटा उद्योग वाणिज्य संघको सभाहल, झलारीमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष जोगी सिंह सोबले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष सहकारी अभियन्ता माधव प्रसाद जोशी उपस्थित हुनुहुन्थ्यो ।

सो कार्यक्रममा नेफ्स्कुन फिल्ड सेवा केन्द्र कञ्चनपुरका प्रमुख धर्मराज जोशी विशेष अतिथि रहनुभएको थियो । कार्यक्रममा संस्थागत विकास, आर्थिक पारदर्शिता र सदस्य हितका विषयमा विस्तृत छलफल गरिएको थियो । सो अवसरमा बाल बचत, ज्येष्ठ नागरिक बचत, नियमित बचत र असल कारोबारीमा उत्कृष्टता हासिल गर्ने सदस्यहरूलाई सम्मान, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ का उत्कृष्ट कर्मचारी तथा संस्थाको सुरुवातदेखि दुई कार्यकालसम्म कोषाध्यक्ष र पछिल्लो कार्यकालमा उपाध्यक्षका रूपमा उल्लेखनीय योगदान पु¥याउने लक्ष्मी देवी भट्टलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।
सभा दौरान आर्थिक वर्ष २०८१/०८२ को आर्थिक विवरण, उपलब्धि, चुनौती र आगामी वर्ष २०८२/०८३ का नीति, योजना तथा कार्यक्रम प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो ।

संस्थाका अध्यक्ष सोबले सहकारी संस्थाहरू देशको आर्थिक सुदृढीकरणका प्रमुख आधार हुन् भन्दै सदस्यबीचको एकता, पारदर्शिता र आत्मनिर्भरता नै सफल सहकारीको आधार रहेको बताउनुभयो । उहाँले संस्थाले अगामी वर्षमा डिजिटल वित्तीय प्रणाली विस्तार, सदस्य क्षमतावृद्धि तालिम, महिला सशक्तीकरण र युवा उद्यमशीलता प्रवद्र्धनमा विशेष ध्यान दिने उल्लेख गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि जोशीले सहकारीलाई केवल आर्थिक संस्था नभई सामाजिक रूपान्तरणको माध्यमका रूपमा हेर्नुपर्ने बताउँदै, “सदस्यको आचरण, पारदर्शी लेखा प्रणाली र उत्तरदायी नेतृत्वले मात्र सहकारी सबल र दिगो बन्न सक्छ,” भन्नुभयो ।
कार्यक्रममा उपस्थित शेयर सदस्य, सञ्चालक समिति, सुपरिवेक्षण समिति, कर्मचारी तथा सरोकारवालाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई सफल र प्रभावकारी बनाएको थियो । संस्थाले कार्यक्रम सभ्य, अनुशासित र आत्मीय वातावरणमा सम्पन्न गरेको जनाएको छ । संस्थाका अध्यक्ष सोवले उपस्थित सम्पूर्ण शेयर सदस्य, अतिथि र सहयोगीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नु भएको छ ।
