कञ्चनपुर : कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन भएको छ । मंगलबार देखि भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महामहोत्सव संचालन भएको हो । सिद्धनाथ मन्दिर धार्मिक सरक्षण समितिको आयोजनामा भएको महोत्सवमा कलसयात्रादेखि आरतीबाट शुरु गरिएको छ । सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष गोरख पुजाराले प्रतिकुल मौषमका विचपनि यज्ञ संचालन भएको बताए । मन्दिरको चौतर्फि बृद्धि विकासका लागि महायज्ञ आयोजना गरिएको बताए । ‘हामीले मन्दिरलाई धार्मिक पर्यटकीय स्थल बनाउन खोजेका छौँ, ‘उनले भने, ‘यसका लागि धार्मिक महोत्सव गर्न खोजेका हौँ ।’

मन्दिरमा स्तरिय संतसंग भवन निर्माण गरेर दर्शनार्थीहरुका लागि सुविधा बनाउने संकल्प रहेको बताए । उद्घाटनको पहिलो दिन स्थानीय सहित विद्यार्थीको उपस्थितिमा कलस यात्रा गरिनेछ । बिराट धनधान्य महापर्व, पितृमुक्तिको पुजा, श्रीमद् भागवत कथा प्रवचन, गौदान, रुद्री पाठ, तुलादान, भूमिदान, चौरासी पुजा, ग्रहशान्ति, लाख बत्ति प्रज्वलन, महालक्ष्मीको पुजा विवाह सहित राष्ट्रिय कलाबारबाट संगितमय भजनकृतन कार्यक्रम गरिनेछ । नेपाल प्रहरीका पुर्व अतिरिक्त महानिरीक्षक (एआईजी) समेत रहेका समाजसेवी दिपेन्द्र विष्टले उदघाटन गर्दै समाजिक सुधारका क्षेत्रमा यज्ञ सचालनमा जोडदिए ।

संकल्पकर्ता ईश्वर शरण महाराजले आध्यात्मिक भक्ति मार्गमा माध्यामबाट सिकाई अभिबृद्धि गर्दै समाजलाई एकताबद्ध बनाउने बताए । उनले मनमा शान्ति ईश्वरीय प्राथनाका साथ अघि बढ्नुपर्ने बताए । धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्दले धार्मिक महायज्ञ जस्ता कार्यक्रमबाट समाज सुधारोन्मुख कार्यक्रम अघि बढाउनुपर्नेमा जोडदिए । भीमदत्त नगरपालिका ८का वडाध्यक्ष मदनराज मिश्रले गाँउको समाजिक बृद्धि विकासका लागि आयोजना हुने महोत्सवमा वडाका तर्फबाट सक्दो आवश्यक सहयोग गर्ने समेत बताए । गाँउमा महायज्ञ संचालन हुने भएपछि स्थानीय समेत उत्साहित भएका छन । २८ असोजसम्मै सचालन हुने महायज्ञमा हजारौँ दर्शनार्थीले अवलोकन गर्ने कार्यक्रम रहेको जनाएको छ । आयोजकले महायज्ञमा सहभागिताका लागि आयोजकले सर्वसाधारणमा अपिल गरेको छ ।

