दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित घरपरिवारलाई गैरखाद्य सामग्री प्रदान गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाले पूर्वानुमानमा आधारित प्रतिकार्य सम्बन्धी कार्य विधि सक्रिय गरेको र जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमान र बाढी विशेष बुलेटिन अनुसार अझै पनि पानी पर्ने सम्भावना रहेको साथै महाकाली र जोगबुडा नदीमा बाढीको उच्च जोखिम रहेको हुदा प्रभावित परिवारहरुले केही दिन सम्म सुरक्षित आश्रय स्थलमा बस्नुपर्ने भएकाले उनीहरुलाई कम्बल र झुल लगायत गैर खाद्य सामग्री वितरण गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएले दोधारा चाँदनी नगरपालिका संगको समन्वयमा बाढीबाट प्रभावित भई जनज्योती माध्यमिक विद्यालयमा बसेका वडा नम्बर ७ रामपुरे टापु र वडा नम्बर ८ जर्काटोलका बाढी प्रभावित र अम्बिका माध्यमिक विद्यालयमा बसेका वडा नम्बर १० शान्ति टोलका बाढी प्रभावित परिवारहरुलाई कम्बल र झुल लगायत गैर खाद्य सामग्री वितरण गरेका हो ।

गत तिन दिन देखि परेको अविरल वर्षापछि आएको बाढीबाट दोधारा चाँदनी नगरपालिकाका १ सय ५७ घर परिवार विस्तापित भएका थिए । ति मध्ये केही विद्यालयमा र केही आफन्तको घरमा आश्रय लिएर बसेका छन् भने केही आफ्नो घरमा फर्किएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बाढी प्रभावित धेरै परिवारहरु विद्यालयमा आश्रय लिएर बस्न बाध्य भएको उल्लेख गर्दै उहाँले प्रभावित परिवारलाई राती सुत्नका लागि आवश्यक कम्बल र झुलको अभाव रहेकाले नगरपालिकाको समन्वयमा तत्काल सामग्री वितरण गरिएको जानकारी दिनुभयो । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बाढी प्रभावित परिवारहरुको तात्कालिन आवश्यकता पूरा गर्न गैर खाद्य सामग्री वितरण गरिएको बताउनुभयो ।

उहाँले विपद् व्यवस्थापन समितिको सक्रियता र सरोकारवालाको सहकार्यले सुरक्षित आश्रयस्थल व्यवस्थापन देखि प्रभावित परिवारलाई आधारभूत आवश्यकता पूरा गर्न सहज भएको बताउनुभयो । सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले विगत तीन दिन देखि परेको अविरल वर्षाका कारण धेरै परिवार प्रभावित भएको बताउनुभयो । उहाँले प्रभावित परिवारहरुको सहायतामा स्थानीय सरकार र सरोकारवाला संस्थाहरुले अग्रसरता देखाउनु पर्नेमा जोड दिनुभयो । दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ रामपुरे सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष टिका देवी मगरले धेरै परिवारहरु विद्यालयमा आश्रय लिएर बसेको र उनीहरुलाई राती सुत्न कम्बल र झुलको अभाव रहेको अवस्थामा एनएनएसडब्ल्यूए र डीसीएको सहयोगमा सामग्री वितरण गरिएकोले ठूलो राहत पुगेको बताउनुभयो ।

यस अघि सम्पन्न स्थानीय विपद् व्यवस्थापन समितिको आपतकालीन बैठकले सरोकारवालाहरु संगको सहकार्यमा सुरक्षित आश्रयस्थलहरु व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सोही आधारमा, एनएनएसडब्ल्यूए र डीसीएको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाले मनसुन सुरु भए लगत्तै अनुबन्ध करार सम्झौता मार्फत जोखिममा रहेका बस्तीहरुमा सामूहिक नगद सहायता वितरण गरिसकेको छ् ।
उक्त सहयोगले सुरक्षित आश्रय स्थलहरु व्यवस्थापन गर्न र प्रभावित परिवारहरुको खानाको व्यवस्थापनमा सहजता भएको सामुदायिक विपद् व्यवस्थापन समितिहरुको भनाई रहेको छ् ।
