दोधारा । कञ्चनपुरको दोधारा चाँदनीका महिलाहरूले तीज पर्वलाई विशेष शैलीमा मनाउँदै विपद् व्यवस्थापनसम्बन्धी सचेतना फैलाएका छन्। दोधारा चाँदनी नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) डीसीए, मर्सिकोर नेपाल, युनिसेफ नेपाल र निड्स नेपाललगायतका संस्थाको सहयोग र सहकार्यमा तीज विशेष प्रतिस्पर्धा कार्यक्रम आयोजना गरिएको हो। जसमा दोधारा चाँदनी नगरपालिमा रहेको सामुदायिक विपद् व्यवस्थापन समितिका महिलाहरूले विपद्ले नित्याएको पीडा, विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणका लागि गरेको पूर्वकार्य, प्रतिकार्य र पुनर्लाभ साथै देखिएका समस्याहरू दर्शाउने रचनात्मक तीजको गीत तथा नृत्य प्रस्तुत गरेका थिए। उनिहरुले गाएको गीतले दोधारा चाँदनी नगर क्षेत्रमा रहेको महाकाली नदी र जगबुडा नदीले वर्षायाममा दिँदै आएका पिडा र विपद् व्यवस्थापन समितिहरुले गरेका कामको पछिल्लो वास्तविकतालाई चित्रण गरिएको थियो।

तीज विशेष कार्यक्रममा आयोजित गीत–नृत्य प्रतिस्पर्धामा दोधारा चाँदनी नगरपालिका–९ को प्रगती सामुदायिक विपद् व्यवस्थापन समिति प्रथम बनेको छ। समितिले नगद रु. ५ हजार प्राप्त गर्यो्। त्यस्तै, दोधारा चाँदनी नगरपालिका–१० को महाकाली सामुदायिक विपद् व्यवस्थापन समिति दोस्रो भई नगद रु. ४ हजार प्राप्त गर्योय भने, सो वडाको कुतियाकबर सामुदायिक विपद् व्यवस्थापन समिति तेस्रो भई नगद रु. ३ हजार प्राप्त गरेको छ। यसैगरी, सान्त्वना पुरस्कार दोधारा चाँदनी नगरपालिका–१० को लालिगुरास सामुदायिक विपद् व्यवस्थापन समितिले जितेको छ, जसले नगद रु. २ हजार प्राप्त गरेको हो। प्रतिस्पर्धामा जम्मा ६ वटा सामुदायिक विपद् व्यवस्थापन समितिहरूले सहभागिता जनाएका थिए।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले महिलाहरूले तीजको गीतमार्फत विपद् व्यवस्थापनका लागि गरिएका काम र बाढीले समुदायमा पारेको पीडालाई जनप्रतिनिधि र संघ–संस्थाहरूसमक्ष प्रस्तुत गरेको जानकारी दिनुभयो। उहाँले यसले समुदायमा गरिएको प्रयास र चुनौतीहरू उजागर गर्दै जनचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले महिलाहरूले तीज विशेष सचेतनामूलक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणबारे समुदायमा सन्देश प्रवाह गरेको जानकारी दिनुभयो। उहाँले यसरी गरिएको सहभागिता र सिर्जनात्मक प्रस्तुति समुदायमा जनचेतना बढाउने र पूर्वतयारीलाई बलियो बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेलबहादुर राना मगर, उपमेयर गंगा देवी जोशी, युनिसेफ नेपालका अशोक जोशी लगायतका व्यक्तित्वहरूले शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँहरूले महिलाहरूको सहभागिता र तीज विशेष कार्यक्रममार्फत फैलाइएको विपद् सचेतनामूलक सन्देशको महत्वबारे प्रशंसा गर्नुभयो। कार्यक्रमा विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानियहरुको उपस्थिती रहेको थियो।
यसरी सम्पन्न तीज विशेष कार्यक्रमले महिलाहरूको सक्रिय सहभागितामार्फत समुदायमा विपद् सचेतना फैलाउने सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। आयोजक तथा सहभागी सबै पक्षहरूले यस्तो रचनात्मक पहलले भविष्यमा पनि विपद् पूर्वतयारी र जोखिम न्यूनिकरणमा योगदान पुर्यालउने आशा व्यक्त गरेका छन्।
