कृषकहरुलाई फलका विरुवा बितरण, हरियाली संगै आयआर्जनको आशा

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का कृषकहरूलाई फलका विरूवा वितरण गरिएको छ। शान्ति सेवा गृह तिलगंगा, काठमाडौँले सञ्चालन गर्दै आएको वातावरण संरक्षण तथा मानव स्वास्थ्य, आर्थिक र पोषण प्रवर्द्धन कार्यक्रम अन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वरका ३६ जना इच्छुक तथा सम्भावना बोकेका कृषकहरूलाई आँप र लिचीका बोट उपलब्ध गराइएको हो। यस क्रममा माल्दा आँप १७ बोट, दशहरी आँप ४५ बोट, आम्रपाली आँप ३० बोट, निलम आँप १५ बोट र लिची ३९ बोटसहित जम्मा १४६ वटा फलका विरुवा हस्तान्तरण गरिएको हो।

विरुवा प्राप्त गरेका कृषकहरूले यो सहयोग आफ्नो भविष्यको आयआर्जन र परिवारको पोषण सुरक्षाका लागि ठूलो आधार हुने भन्दै खुशी व्यक्त गरेका छन्। उनिहरूका अनुसार, फलका बोटहरू उत्पादनमा आएपछि बजारमुखी खेतीमार्फत अतिरिक्त आम्दानी गर्ने सम्भावना पनि बढ्नेछ। कृषकहरूले बिरुवा सहयोगका लागि शान्ति सेव गृह तिलगंगा काठमाडौँ र यो सबै कार्यमा समन्वयका लागि संस्थाका गोविन्द पौडेललाई विषेश धन्यवाद दिएका छन्।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का वरिष्ठ व्यवस्थापन टोली सदस्य तथा त्रिपुरेश्वरका स्थानीय राजिव अवस्थीले यो पहलले कृषकहरूको जीवनस्तर उकास्नुका साथै हरियाली प्रवर्द्धन र वातावरण संरक्षणमा समेत योगदान पुग्ने बताउनुभयो। उहाँले फलफूल खेतीलाई प्रोत्साहन गर्नु नै स्थानीय अर्थतन्त्र सबल बनाउने र गाउँघरलाई आत्मनिर्भर बनाउने आधार भएको तर्क गर्नुभयो।

यस प्रकारको सहयोगले किसानलाई दीर्घकालीन लाभ मात्र नभई स्वस्थ जीवनशैली र वातावरणमैत्री समाज निर्माणतर्फ पनि महत्वपूर्ण योगदान पुर्यााउने अपेक्षा गरिएको छ।

ताजा समाचार