जगदीश ओझा / महेन्द्रनगर: कोथल्झाड़—त्यो नाम, जसमा न सम्मान थियो, न चिनारी। अर्थै बुझ्ने हो भने—अन्न बोकेर ल्याइएको बोरी, जसको कुनामा अड्किएका गेडा बारीबाट भकारी लाग्ने क्रममा “फोहर” भन्दै मिल्काइन्छ। तर ती गेडामा पनि जीवन हुन्छ, र कहिले काँही तिनै फोहर ठानिएका गेडाले उत्कृष्ट फसल दिन सक्छन्। बीउको जन्म जसलाई समाजले उपयोगी मानेन,उसको जन्म एक आमा-बुबाका आँखा भित्रको सपना थियो। भनिन्थ्यो “यो कोथल्झाड़—“सायद एउटा आशासंगै चिन्ता पनि जन्मियो । बुबा गम्भीर थिए, चुपचाप चिन्ताले भरिएका। आमा गहिरो करुणामयी—छोराको मौनताभित्रको आगो बुझ्न सक्ने।

दुवैले देखेका थिए— छोरो ‘कोथल्झाड़’ जस्तो थियो—मौन, मिल्किएको, तर उनीहरूलाई विश्वास थियो—”यो कुनै दिन फुल्नेछ।” तर सन्तानकै पीडाको भारी बोकेर ती दुई हृदय चुपचाप विलिन भए, कोथल्झाड़ फुल्नुअघि नै। बिद्रोहको अंकुर छोरोले आफैसँग भिड्न सिक्यो। फुर्सदको घाम, वर्षाको झरी, अपहेलनाको काँडाबाट गुज्रँदै— ऊ बढ्दै गयो। कसैले पग्लाउन नसकेको मौनताको आगोमा ऊ आफै गल्दै र गढिँदै गयो। उसले जीवन लेख्न थाल्यो—तर पाना थिएनन्, उसो त भित्ताहरू नै लेखिएको थिए—”तँ बेकार छस्” भनेर। ऊ त्यस भित्तामा लेख्न थाल्यो—”हो, म बेकार थिएँ, तर अब उपयोगी छु—कम्तिमा मेरो मौनता तिमीलाई ऐना बनोस्।” फुलिसकेको उद्यान र अपुरो स्पर्श समयले साथ दियो। “कोथल्झाड़” आज एक सुन्दर उद्यान बनिसकेको छ— जहाँ प्रेरणाका फूलहरू फुलेका छन्, जहाँ थुप्रै थाकेका मानिसहरू विश्राम लिन्छन्। तर त्यही बगैंचामा… न आमा छन्, न बुबा। “आज म फुलेको छु, तर मलाई हुर्काउने ती हातहरू छैनन्।

ती आँखाहरू छैनन्, जसले मेरो पहिलो चिरफार हेरेका थिए। त्यो मुटु छैन, जसले मेरो पहिलो मौनता सुनेको थियो।” यो अपूरो उपलब्धि नै उसको सबैभन्दा ठूलो पीडा हो। जसका लागि ऊ लडेको थियो, उनीहरूकै अभावमा अब उनी आफैंले आफूलाई भन्छन- “म फोहर मानिएको थिएँ, मिल्काइएको थिएँ, तर म अन्न थिएँ— मैले माटोमा उम्रेर प्रमाणित गरें। म बाँचें, लेखें, लडेँ— तर जसका लागि फुलेँ, तिनीहरू हेर्न पाएनन्। त्यसैले मेरो सुन्दर उद्यानको सुगन्ध पनि मलाई कहिले पूर्ण लाग्दैन।” कोथल्झाड़ केवल अपहेलित व्यक्तिको कथा होइन, यो त त्यो मौन आत्माको उभिएर हाँस्न सिक्ने संघर्षको गाथा हो, जो अन्ततः तिनैलाई दर्शन बनेर फर्किन्छ— जसले एक दिन फोहर भनेर उडाएका थिए। तर उसले त सिकेको थियो— “फुल्नु पनि मौन बिद्रोह हो, जहाँ काँडाहरूलाई दोष नदिई, आफ्नै गन्धले संसार बदलिन्छ।”


# कोथल्झाड़ === बिकास गौतम ,दाङ (प्रतिक्रियात्मक कथा) ===== म त कोथल्झाड नाम दिएको जिनिस थैलोबाट जमिनमा झरेपछि निकै दु:खी भएर काखी मुनि हात कोचारेर उट्केरी बसेको र टाउको झुकाएको अवस्थामा देखें र कोट्याएर सोधें किन झोक्राईराको ? के भयो ? उसले गहभरि आँसु पार्दै मतिर दृष्टि फाल्यो । म उसको अनुहार हेरेर भनें – के भयो र यति पीर मानेको हँ ? उसले भन्यो – यो मानिस जात कति स्वार्थी छ , मेरा संगी साथी सबै लगेर कता गए थाह भएन , हामी केही विछुट्टियौं । थोरै भएर अपमानित हुन गयौं , भुँई ( खलिहान ) बाट केहि समय आरामले बोरामा बस्न पायौं । आज फेरि उहीँ भुईँमा बजारियौं , बजारिने जमिनको ठाउँ भने फरक । को हामी थोरै छौं तर जतनले राखेको भए र हामीलाई बटुलेर जम्मा गरेको भए मुठ्ठी भरि हुन्थ्यौं , अनि त्यहि मानिसलाई नै जीवन जीउन काम दिन्थ्यो । भन्ने बेलामा – एक थुकी सुकी सय थुकी नदी रे तर माल पाएर चाल नपाउँदा हाम्रो यो गति ! उसका कुरा सुनेर म पनि अलि भावुक भएँ । खोपामा राखेको दुनो झिकेर मझेरीमा छरिएका उनीहरुलाई दुई अैांलाले टिपेर राख्दै गर्दा , ती मद्धेको यौटा हाँस्यो ।
सोधें – किन के भयो ? अन्न उमार्न निकै मेहनत हुन्छ , जतन गरे । धन्यवाद भनेर उ चुप लाग्यो ।मैले बटुलेका ती अन्नका दानालाई भित्ताको मकेलोमा राखेर बाहिर निस्किएँ , साँझ आउँदा आमाले बचेका दुनाको कोथल्झ्याडलाई उनीहरुकै सङ साथी भएको बोरामा हालिदिनु भएछ , बोरा केही गरि ढल्दा बोराको जिनिस भुईँमा रेल्लिएला भनेर बोराको मुख डोरीले बाँधेर थन्काउनु भएछ । घर आएर आमालाई दुनाको खै ? भनेर सोधें , आमाले बोरामा राखेको सुनाउनु भयो । अनि संझें – “परिवारमा सबैले उपयोगी बस्तुहरुलाई सदुपयोग गर्न सबैका हात सक्रिय भए अभावलाई अलि पर हुत्याउन सकिन्थ्यो कि ।” ( जगदीश ओझा महेन्द्रनगर कञ्चनपुरमा रहेर तीन दशक देखि लेखनमा सक्रिय सर्जक हुन भने विकास गौतम लामो समय सम्म दाङ लगायत बिभिन्न ठाउँबाट शैक्षिक नेतृत्वमा रहि सेवा निवृत भैसके पश्चात लेखन तथा वौद्धिक नेतृत्वमा सक्रिय ब्यक्तित्व हुन।
(प्रस्तुत लेखमा जगदीश ओझाको कोथल्झाड़ शिर्षकको कथामा विकास गौतमले सोहि शिर्षकमा प्रतिक्रियात्मक रचना सिर्जना गरेका छन।)






