कञ्चनपुरमा नदी तथा वर्षा मापन अवलोकनकर्ताहरुका लागि अभिमुखिकरण कार्यक्रम

पप्पु गुरुङ्ग,  दोधारा । कञ्चनपुरमा समुदायमा आधारित नदी तथा वर्षा मापन अवलोकनकर्ताहरुका लागि एक दिने पुनर्ताजगी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साँझेदारीमा सञ्चालित जलवायु उत्थानशील समुदाय (सीआरसी) कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रम जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरिया र दोधारा चाँदनी नगरपालिका, शुक्लाफाँटा नगरपालिका तथा कृष्णपुर नगरपालिका संगको समन्वयमा चेतन होटल, कञ्चनपुरमा सम्पन्न गरिएको हो । अभिमुखिकरण कार्यक्रमको उद्देश्य समुदाय स्तरमा नदी तथा वर्षा मापनको विश्वसनीयता र प्रभावकारिता बढाउनु तथा विपद् पूर्वानुमान र पूर्व तयारी प्रक्रियालाई अझ प्रभावकारी बनाउनु रहेको थियो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) जलवायु उत्थानशील समुदाय (सीआरसी) परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले नदी तथा वर्षा मापनमा संलग्न अवलोकनकर्ताहरुको दक्षता अभिवृद्धि तथा पूर्वसूचना प्रणालीलाई थप सवल बनाउन अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले गेज रिडरहरुलाई जिम्मेवारी निर्वाह गर्न सहज होस् भन्ने उद्देश्यले अभिमुखिकरण संगै रिचार्ज सुविधा, व्यक्तिगत सुरक्षा सामग्री र बीमा व्यवस्थापन पनि गरिएको बताउनुभयो । जल तथा मौसम विज्ञान विभाग कार्यालय अत्तरियाका प्रमुख ईन्जिनियर सञ्जय कुमार साहले अभिमुखिकरण कार्यक्रममा माथिल्लो तटीय क्षेत्रमा वर्षा हुादा तल्लो तटीय क्षेत्रलाई कसरी सुरक्षित राख्न सकिन्छ र कसरी समयमै सूचना प्रवाह गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई जानकारी गराईएको बताउनुभयो ।

उहाँले यस्तो सूचना प्रवाहबाट तल्लो तटीय क्षेत्रका समुदायले आवश्यक लिड टाईम प्राप्त गरी प्रभावकारी पूर्वतयारी गर्न सक्ने र त्यसले जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने स्पष्ट पार्नुभयो । शुक्लाफााटा नगरपालिका–१२ का गेज रिडर मंगल प्रसाद चौधरीले एक दिने पुनर्ताजगी अभिमुखिकरण कार्यक्रमबाट वर्षाको मौसममा स्थानीय तह र तल्लो तटीय क्षेत्रका गेज रिडरहरु संग सहकार्य गरी कञ्चनपुरको विपद् जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण सिकाई प्राप्त भएको बताउनुभयो ।

उहाँले रिचार्ज सुविधा, व्यक्तिगत सुरक्षा सामग्री र बीमा व्यवस्थापन समेत गरिएको हुादा थप ऊर्जा र उत्साह प्राप्त भएको उल्लेख गर्नुभयो । अभिमुखिकरण कार्यक्रमले नदी तथा वर्षा मापन अवलोकनकर्ताहरुको सीप अभिवृद्धि गर्दै विपद् पूर्व तयारीमा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ् ।

ताजा समाचार