कञ्चनपुर । विपद् जोखिमका दृष्टिले अति संवेदनशील कृष्णपुर नगरपालिकामा आपतकालीन व्यवस्थापनलाई सुदृढ बनाउन आवश्यक सामग्रीहरु हस्तान्तरण गरिएको छ् नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) ले मर्सिकोर नेपालसागको साँझेदारीमा सञ्चालित जलवायु उत्थानशील समुदाय (सीआरसी) परियोजना अन्तर्गत नगरपालिकाको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई झन्डै ३ लाख ४७ हजार रुपैयाँ बराबरका सामग्रीहरु प्रदान गरिएको हो । केन्द्रलाई डेल कम्प्युटर, प्रिन्टर, कार्यालय कुर्ची, भिजिबिलिटी बोर्ड, नोटिस बोर्ड, एलईडी टिभी तथा ग्यासोलिन चेन लगायतका उपकरणहरु हस्तान्तरण गरिएको छ् । कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) का निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जरुरुले स्थानीय सरकार सञ्चालन ऐन अनुसार हरेक पालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना र प्रभावकारी कार्य सञ्चालन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सामग्रीको प्रभावकारी प्रयोग गर्दै नगरपालिकाले विपद् व्यवस्थापनमा उदाहरणीय काम गर्ने विश्वास व्यक्त गर्नुभयो । कृष्णपुर नगरपालिकाका उप–प्रमुख द्रोपती रानाले नगर क्षेत्रलाई चौतर्फी रुपमा नदीले घेरेको कारण वर्षेनी खेतियोग्य जमिन कटान र पटानिको समस्याले सताउने उल्लेख गर्नुभयो । यस्तो अवस्थामा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढ गर्न सहयोग प्राप्त हुनु सराहनीय रहेको भन्दै उहाँले विपद् पूर्वतयारी र प्रतिकार्यमा यसले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट, विपद् व्यवस्थापन शाखा प्रमुख प्रेम बोगटी लगायतको उपस्थिति रहेको थियो । एनएनएसडब्ल्युएले मर्सिकोर नेपाल संगको साँझेदारीमा सीआरसी परियोजना सञ्चालन गरिरहेको छ् । परियोजनाले दोधारा चाँदनी नगरपालिका–३ पटराखल्ला, वडा नं. १० कुतियाकवर र शान्तिटोल तथा कृष्णपुर नगरपालिका–२ नयाँ बस्ती, खल्लागोठ र अठन्नि फाँटा समुदायमा काम गर्दै आइरहेको छ् ।

परियोजनाको उद्देश्य जोखिममा रहेका समुदायहरुलाई विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्य क्षमताको विकास मार्फत जलवायु उत्थानशील बनाउनु रहेको छ् ।
