राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा आयोजित निःशुल्क रगत परिक्षण स्वास्थ्य शिविरमा एक सय ८० जनाको रगत परिक्षणको कार्य गरिएको छ । एक सय १६ जना महिला र ६४ पुरुषको शिविरमा रगत परिक्षणको कार्य गरिएको छ । रगत परिक्षण गरिएका मध्ये १४ जनामा सिकलसेलको ट्रेट (वाहक) फेला परेको छ । सिकलसेल एनिमिया भए नभएको बारे ट्रेट देखिएकाहरुको रगत प्रयोगशालमा पुनः परिक्षण पश्चात यकिन हुने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताउनु भयो । उहाँका अनुसार ट्रेट देखिएकामा नौ जना महिला र पाँच जना पुरुष रहेका छन ।

“छ वर्षीय बालक देखि ६५ वर्षीय महिलामा सिकलसेल एनिमियाको ट्रेट देखा परेको छ” उहाँले भन्नुभयो, “यस अघि ती व्यक्ति र तीनका परिवारको सिकलसेल एनिमिया सम्बन्धी स्क्रिनिङ टेष्ट भने भएको पाईएको छैन ।” सिकलसेल ट्रेट देखिएका व्यक्तिहरुलाई शिविरमा रहेका चिकित्सकहरुले आवश्यक परामर्श दिएका छन । सिकलसेल एनिमिया सम्बन्धीको कुण्डली हेरेर मात्रै विवाह गर्न शिविरमा सहभागीहरुलाई सुझाव दिईएको छ । यस अघि नगरपालिकाका छ वडामा छुट्टा छुट्टै रुपमा सिकलसेल एनिमिया पहिचानका लागि आयोजना गरिएका शिविरमा एक सय २६ जनामा सिकलसेलको ट्रेट फेला परेको थियो । स्वास्थ्य शाखा प्रमुख भट्टका अनुसार सिकलसेल एनिमिया अनुवांशिक रक्त विकार भएकाले जसमा रगतमा पाइने रातो रक्तकोष को बनावट असामान्य हुन्छ । सामान्य अवस्थामा यी कोषहरू गोलाकार र लचिलो हुन्छन्, तर सिकलसेल एनिमियामा ती कोषहरू अर्धचन्द्र (सिकल) आकारका र कडा हुने गरेका छन ।

अर्धचन्द्र आकारका विकृत कोषहरु रक्तनलीहरूमा अड्किनगै रगतको प्रवाह अवरुद्ध गर्दा विरामीलाई असह्य पिडा हुने गरेको पाईएको छ । “अर्धचन्द्र आकारका रक्तकोषहरु छोटो समयमै नष्ट हुने हुदा विरामीलाई रक्तअल्पता (थकान, कमजोरी) गराउँछ” उहाँले भन्नुभयो, “अंग क्षति दीर्घकालीन असरले मुटु, फोक्सो, मिर्गौला, कलेजो जस्ता अंगमा क्षति पु¥याउन सक्छ ।” यो रोग आमा बुवाबाट बालकमा अनुवांशिक रुपमा सर्ने गर्दछ । सिकलसेल ट्रेट भनेको सिकलसेल एनिमियाको लक्षणलाई जनाउछ छ । सिकलसेल टे«ट आफैँमा रोग होइन, तर रक्त परीक्षण मार्फत थाहा पाउन सकिन्छ । सिकलसेल एनिमिया विशेष गरी थारु समुदायमा बढी देखिने गरेको छ । महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा सिकलसेल रोगको उपचार सेवा उपलव्ध रहेको छ ।

