भुवन भट्ट/महेन्द्रनगर : कञ्चनपुरमा जिल्ला स्तरीय अन्तर माध्यामिक गणित/विज्ञान शैक्षिक सामाग्री प्रर्दशन सम्पन्न भएको छ । शुक्रवार शान्ति निकेतन माध्यमिक विद्यालयको आयोजना र शिक्षा विकास निर्देशनालय दिपायलको समन्वयमा महेन्द्रनगरमा अन्तर माध्यमिक गणित/विज्ञान प्रदर्शनी सम्पन्न भएको हो । विद्यालय तहका विद्यार्थीहरूलाई विज्ञान तथा गणित विषयमा आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजक शान्ति निकेतन माध्यमिक विद्यालयले जनाएको हो । जिल्ला स्तरीय विज्ञान तथा गणित विषयमा गरिएको प्रदर्शनीमा जिल्ला स्थित २४ विद्यालयको सहभागिता रहेको थियो ।

विज्ञान प्रविधिका विभिन्न विद्याहरूको नमूना प्रदर्शनी गरिएको शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुस्पराज ओझाले जानकारी दिए । विज्ञान प्रर्दशनीमा १५ विद्यालय र गणित प्रर्दशनीमा ९ विद्यालय गरि २४ वटा विद्यालयका विद्यार्थीहरुले निर्माण गरेका गणित र विज्ञानका शैक्षिक सामाग्री प्रदर्शनमा राखिएको थियो । प्रदर्शन प्रतिस्पर्धात्मक रहेको कार्यक्रममा सहभागि शिक्षक सुरज पन्तले बताए । शैक्षिक सामाग्री मूल्याङ्कनका लागि त्रिभुवन माध्यामिक विद्यालय तिलाचौरका प्रद्यानाध्यापक रमेश कुमार जोशी, निङलाशैनी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक धनश्याम भट्ट र महेन्द्रनगर माध्यामिक विद्यालयका पुर्व प्रधानाध्यापक ललित सिंह साउद रहनुभएको थियो । उक्त प्रदर्शनीमा विज्ञान तर्फ महेन्द्रनगर नमुना माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ भने गणित तर्फ लक्ष्मी माध्यामिक विद्यालय बागफाँटाले प्रथम स्थान हासिल गरेको छ । यस्तै विज्ञान तर्फ निङलासैनि माध्यामिक विद्यालय द्वितिय, सत्यवादी मावी बनगाउ तृतीय भएका छन् ।

भने गणित तर्फ इन्टरनेस्नल पब्लिक स्कुल द्धितिय र महेश्वर मावि सुकासाल तृतीय भएको छ । प्रथम विद्यालयलाई दुवै विधातर्फ ४ हजार द्धितियलाई ३ हजार, तृतीयशलाई २ हजार र सान्तोना पुरुष्कार एकहजार प्रदान गरिएको आयोजकले जनाएको छ । सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपालदत्त जोशीको प्रमुख आतिथ्यता तथा शान्ती निकेतन माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदत्त भट्टको सभापतित्वमा शिक्षिका बिमला भट्टले कार्यक्रमको सञ्चालन गरेकी थिइन् । महेन्द्रनगर नमुना माध्यमिक विद्यालयले दोस्रो पटक लगातार विज्ञान तर्फ प्रथम स्थान हासिल गरेको उक्त विद्यालयका कम्प्युटर शिक्षक सुरज पन्तले जानकारी दिए । विज्ञान विषयका शिक्षक गंगा दत्त भट्ट र शिक्षक पन्तले विद्यार्थीहरूलाई विभिन्न विद्यामा प्रशिक्षण गराउँदै आएका थिए । शिक्षक पन्तले विज्ञान सामाग्री निर्माण, कम्प्युटर सम्बन्धी कोर्सका विषयमा विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका छन् ।







