महेन्द्रनगर : भारतबाट फर्किने तीन जनामा आज कोरोना पुष्टि भएको छ । गौरीफन्टा नाकामा गरिएको परीक्षणमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा शंकास्पद् ३१ जनाको नाकामा परीक्षण गरिएको थियो ।

भारतमा कोरोना संक्रमण बढेपछि त्यहाँबाट फर्किने नेपालीहरुमा पनि संक्रमण देखा परिरहेको छ । कोरोना संक्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, पुलघाट र झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर जाँच गर्ने कार्य भइरहेको निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले बताए । उनले नाकाहरुमा साढे तीन सय परीक्षण किट पठाइएको जानकारी दिए ।

जेठ २१ गतेदेखि हालसम्म सुदूरपश्चिम प्रदेशमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये आठ जना निको भइसकेको निर्देशनालयले जानकारी दिएको छ । संक्रमितहरुमा साधारण लक्षण देखिने गरेकाले घरमै आइसोलेसनमा बस्ने गरी पठाउने गरेको जोशीले जानकारी दिए ।

