कञ्चनपुर : प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको तेस्रो पूर्ण बैठकले सांगठनिक तथा सामाजिक विषयहरूमा विविध निर्णयहरू गर्दै बैठक सम्पन्न गरेको छ । आइतबार प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो बैठक कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ ।बैठक आम नागरिकका मुद्दा उठानदेखि श्रमजिवी पत्रकारको हकहितमा जोडदिईएका छन । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष केशव जोशीको अध्यक्षतामा बसेको बैठकले भारतले नेपालको दार्चुला र कञ्चनपुर लगायतका जिल्लाहरूमा गरेको सीमा अतिक्रमण तथा जनजीविका र सांगठनिक विषयहरूका विविध निर्णयहरू गर्दै सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले प्रेस सेन्टरले सधैं पत्रकारको हकहित, अधिकार र स्वतन्त्रताको पक्षमा लड्दै आएको उल्लेख गर्दै भने, “आजको समयमा पत्रकारितालाई सुदृढ बनाउँदै राष्ट्रिय चासोका विषयमा स्पष्ट अडान लिनु जरुरी भइसकेको छ।” उनले भारतीय अतिक्रमणविरुद्ध प्रेस जगत एकजुट हुनुपर्नेमा जोड दिए । विशिष्ट अतिथि ओमविक्रम भाट ‘सरल’, अतिथि केशव योगी, केन्द्रीय उपाध्यक्षहरू रामसिंह ठगुन्ना र लक्ष्मण खड्का, महासचिव मनोज घर्तीमगर, उपमहासचिव हरिष विक र सचिव राजेन्द्र अवस्थी लगायतको उपस्थितिमा संगठनात्मक सुदृढीकरण, पत्रकार सुरक्षालगायत विषयमा छलफल गरिएको थियो ।बैठकबाट सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी थिए ।

बैठकले पत्रकारिता क्षेत्रमा देखिएका समस्या, चुनौती र सम्भावनाका विषयमा गहन छलफल गर्दै आगामी कार्यदिशा तय गरेको प्रेस सेन्टर सुदूरपश्चिम प्रदेशले बताएको छ । बैठकमार्फत प्रेस सेन्टर सुदूरपश्चिमले पत्रकार मात्र होइन, राष्ट्रको स्वतन्त्रताको पक्षमा आवाज उठाउन सक्ने दृढता गरेको छ । संगठनले केवल आन्तरिक सुदृढीकरणमा होइन, राष्ट्रिय स्वाभिमान र सीमाको सुरक्षा जस्तो संवेदनशील विषयमा पनि आफ्नो जिम्मेवारी पत्रकार र आम नागरिकले बहन गर्नुपर्ने विषयमा छलफल गरेको छ । बैठकमा सहभागी विभिन्न जिल्लाका पत्रकार नेताहरूले स्थानीय स्तरमा पत्रकारहरु माथि हुने हिंसा र दुव्र्यवहारका घटना कम गर्न सम्बन्धित पक्षलाई सचेत गरेका छन् । बैठकमा आम नागरिकको आवश्यकता र बदलिदो समय अनुसारको पत्रकारितामा आवश्यक परिवर्तनको खाँचो रहेको औल्याएका छन् ।

