पप्पु गुरुङ्ग, दोधारा । जलवायु परिवर्तनका प्रभाव बारे चेतना अभिवृद्धि र समुदायस्तरमा अनुकूलन क्षमताको विकास गर्ने उद्देश्यले भानु बहुमुखी क्याम्पस, दोधारा चाँदनीले जलवायु परिवर्तन अनुकूलन सम्बन्धी तिन दिने कार्यशाला सुरु गरेको छ् । विश्वविद्यालय अनुदान आयोग (युजिसी) अन्तर्गत समता आधारित अनुदानको सहयोगमा सञ्चालन भानु बहुमुखी क्याम्पसले कार्यशालाको आयोजना गरेको हो । कार्यशालाको उद्देश्यबारे स्पष्ट पार्दै क्याम्पस प्रमुख प्रकाश बहादुर चन्दले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलन साथै विपद् जोखिम न्यूनिकरण प्रक्रियामा शैक्षिक संस्थाहरुको प्रभावकारी सहभागिता आवश्यक भएकाले यस कार्यशालाको आयोजना गरिएको बताउनुभयो । उहाँले सामुदायिक क्याम्पस भएकाले क्याम्पसले पनि यो क्षेत्रमा आफ्नो भूमिका पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि, प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले दोधारा चाँदनी नगरपालिका महाकाली र जोगबुडा नदीले घेरिएको क्षेत्र भएकाले बाढीजन्य विपद्को उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले हाल जलवायु परिवर्तनको प्रभाव तीव्र रुपमा देखिन थालेको अवस्थामा, कार्यशालाबाट सिकिएका अनुकूलन अभ्यासहरुलाई व्यवहारमा रुपान्तरण गर्नु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रमका सभापति तथा क्याम्पस सञ्चालन समितिका अध्यक्ष भरत दत्त भट्टले नेपालमा बढ्दो जलवायु परिवर्तनका प्रभावलाई कम गर्न र जोखिममा रहेका स्थानीय समुदायलाई सुरक्षित गर्ने उपाय सहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले यस्ता कार्यक्रमहरुले समुदायमा चेतना अभिवृद्धि गर्नुका साथै दीर्घकालीन समाधान तर्फ मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यशालामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, नेपालमा जलवायु परिवर्तनको असर र अनुकूलन अभ्यासहरु, तथा पूर्वसूचना प्रणाली र सामुदायिक अग्रिम प्रतिकार्य जस्ता विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिनेछ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का पूर्वसूचना तथा पूर्वप्रतिकार्य अधिकृत भोजराज भट्ट, भीमदत्त नगरपालिकाका वातावरण अधिकृत सविन रावल, र दोधारा चाँदनी नगरपालिकाका पूर्व विपद् सम्पर्क व्यक्ति रघुनाथ भट्टले कार्यशालामा सहजीकरण गरिरहनुभएको छ् ।

यस्तै, कञ्चनपुरमा बाढी तथा पहिरो व्यवस्थापन सम्बन्धी सत्रमा सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टले प्रशिक्षण दिईरहनुभएको छ् । कार्यशालाको उद्घघाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका पूर्व उपमेयर चिनी गिरी, वडा नम्बर ६ का वडाध्यक्ष ओम बस्नेत, र क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष राजिव खड्काले समेत आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यशालामा विद्यार्थर्ी प्राध्यापक, जनप्रतिनिधी तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सक्रिय सहभागिता देखिएको छ् ।






