शुक्लाफाँटामा अपाङ्गता भएका व्यक्तिहरुका लागि समावेशी विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम


झलारी : महिला, बालिबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघको समन्वयमा तथा अपाङ्ग एकता समाज नेपालको आयोजनामा शुक्लाफाँटा नगरपालिकामा स्थानिय तह, अपाङ्गता भएका व्यक्तिहरुका संस्था र नागरिक समाजका प्रतिनिधिहरुका लागि एक दिने अपाङ्गता समावेशी विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।

अपाङ्ग एकता समाज नेपालका अध्यक्ष हरिदत्त भट्टको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले शुक्लाफाँटा नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री अभाव भएको बताउनु भयो । सहायक सामग्री अभाव हुदा अपाङ्गता भएका व्यक्तिहरुलाई हिडडुल गर्न समस्या भएको गुनासो उहाँले गर्नु भयो । नौ वर्ष अघि दातृ निकायले उपलव्ध गराएका ह्विलचेयर, ट्राइसाईकल लगायतका सहायक सामग्री विग्रीएर कामै नलाग्ने भएको उहाँले बताउनु भयो ।

“दातृ निकायले प्रदान गरेका ती सहायक सामग्री विग्रीदा मर्मत हुन सकेका छैनन”् उहाँले भन्नुभयो, “पाटपूर्जा पाईदैनन् त्यस पछि कुनै निकायबाट सहायक सामग्री उपलव्ध हुन सकेका छैनन् ।” नगरपालिकाले केही अपाङगता भएका व्यक्तिहरुलाई ह्विलचेयर लगायतका सहायक सामग्री उपलव्ध गराए पनि समय सुहाउदो र टिकाउन नभएको उहाँको भनाई थियो ।

स्थानिय तहमा सर्वदलिय संयन्त्र हुदा अपाङ्गता भएका व्यक्तिहरुका लागि केही बजेट विनियोजन हुने गरेको चर्चा गर्नु हुदै उहाँले स्थानिय तहमा जनप्रतिनिधि आएपछि बजेट विनियोजन गर्न रोकिएको बताउनु भयो । “स्थानिय तहले समानुपातीक तरिकाले बजेट विनियोजन गर्नु पर्दथ्यो, त्यो हुन सकेको छैन” उहाँले भन्नुभयो, “अपाङ्गता भएका हामीहरु माथि विभेद गरिएको छ ।” स्थानिय तहमा अपाङ्गता भएका व्यक्तिहरुका लागि गठन हुने समितिको कार्यदलमा सदस्य भएपनि पटक पटक अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री, आयआर्जन, सीपमुलक कार्यक्रमका लागि आवाज उठाएको तीन÷तीन पटक प्रस्ताव लगेर दर्ता गर्दा पनि सुनवाई हुन नसकेको उहाँको भनाई रहेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि संस्थागत रुपमा आवाज उठाउनका लागि कार्यालयको माग गरेपनि सुनवाई नहुदा झोलामा अफिस राखेर हिडनु परेको दुखेसो उहाँले पोख्नु भयो । अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकता आधारमा सेतो छडी, बैसाखी, लठ्ठी, कम्बरमा बाध्ने पेटी, क्यालिफर, कुहिनो मुनीको हात, घुडा मुनीको कृतिम खुट्टा, ह्विल चियर, ट्राइसाईकल, विशेष जुत्ता लगायतका सामग्रीको व्यवस्था गरिदिन उहाँले आग्रह गर्नु भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुका पक्षमा वकालत गर्दै आउनु भएका कालिप्रसाद चौधरीले मापदण्ड अनुरुपका अपाङ्ग मैत्री सरकारी संरचना नहुदा अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा लिन निकै संघर्ष गर्नु परेको बताउनु भयो । अपाङ्गता भएका छात्र छात्राहरुलाई विशेष छात्रबृत्तिको व्यवस्था संगै सार्वजनिक यातायाका साधनमा छुटको व्यवस्था गरिनु पर्ने भएपनि त्यो हाल सम्म हुन नसकेको उहाँले बताउनु भयो । नगर उप प्रमुख कल्पना कुमारी जोशी पन्तले नगरपालिका नयाँ बन्ने भौतिक संरचनाहरुलाई अपाङ्गग मैत्री बनाउन लागिएको बताउनु भयो ।

पुराना संरचनामा पनि अपाङ्गता भएका व्यक्तिहरुको असहजतालाई महशुस गर्दै सुधार गर्दै लगिएको बताउनु भयो ।
“जनप्रतिनिधि भएर आएपछि बजेट भ्याए सम्म र आफनै प्रयासमा पनि अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गरिदै आएको छ” उहाँले भन्नुभयो, “सबैलाई पुरयाउन सकेका छैनौं, क्रमशः मागका आधारमा वितरण गर्छौ ।” प्रस्ताव ल्याएमा त्यसै अनुरुप बजेट विनियोजन गर्न लगाउनका लागि पहल गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेश बहादुर ऐरले अपाङ्गता भएका व्यक्तिहरु सहित अन्य लक्षित वर्गका लागि सीमुलक, नेतृत्व विकास, क्षमता विकास सम्बन्धी कार्यक्रमहरु आयोजना हुदै आएको उल्लेख गर्नु हुदै उहाँले यसबाट थोरै भएपनि अपाङ्गता भएका व्यक्तिहरु आत्मनिर्भर भएको बताउनु भयो । वडा नं १ का वडा अध्यक्ष उत्तरदेव भट्टले समावेशीताको सिद्धान्तलाई अंगिकार गरी अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार स्थापित गरिनु पर्ने बताउनु भयो । “सीप सिकाए जीवनपर्यन्त सकिदैन” उहाँले भन्नुभयो, “सिकेको सीपलाई व्यवसायीक बनाएर अघि बढनु पर्छ, जीवन चलाउन सहज हुन्छ, अपाङ्गता भएका व्यक्तिहरुबाट के कस्तो कार्य गर्दा राम्रो हुन्छ, त्यसका लागि सुझाव आउनु परयो, त्यसै अनुरुप योजना बनाएर लागु गर्छौ ।”

अपाङ्गगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन नहुदा अपाङ्गता भएका व्यक्तिहरु हक अधिकार पाउनबाट बञ्चित हुदै आएको सुदूरपश्चिम विश्वविद्यालयका उप प्रध्यापक यज्ञराज पाण्डेयले बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरु र बालबालिकाहरुका लागि तत्काल समावेशी नीति निर्माण गरी नगरपालिकाले लागु गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । शुक्लाफाँटा नगरपालिकाको कुल जनसङख्या ५३ हजार नौ सय ६९ मध्ये अपाङ्गता भएका व्यक्तिहरुको सङख्या एक हजार पाँच सय ११ रहेको छ ।

 


Loading Viewer...

ताजा समाचार

spot_img