झलारी ः शुक्लाफाँटा नगरपालिकामा आइतवार राष्ट्रिय व्यवसायीक योग्यता प्रणाली सम्बन्धी अभिमुखिकरण तथा स्थानिय तह प्राविधिक तथा व्यवसायीक शिक्षा र तालिम सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय धनगढी र नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रम नगर प्रमुख रण बहादुर महराको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत लोकेन्द्रप्रसाद भट्टले नेपाल व्यवसायीक योग्यता प्रणाली परियोजना, युवाहरुका लागि गुणस्तरीय प्राविधिक तथा व्यवसायीक शिक्षा र तालिम परियोजा, दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना संगै राष्ट्रिय योग्यता प्रणाली बारे जानकारी गराउनु भएको थियो ।

उहाँले नेपालको श्रमबजारमा प्रवेश गर्ने युवाहरु सीप तथा सो को प्रमाणिकरणको अभावमा बेरोजगार वा अर्धबेरोजगार हुनका साथै अत्यन्त न्यून पारिश्रमिकमा कार्य गर्न बाध्य भएको बताउनु भयो । औपचारिक वा अनौपचारीक रुपमा शिक्षा तथा तालिम पाएका तथा कामको अनुभवबाट सीप प्राप्त गरेका युवाहरुलाई मान्यता प्राप्त प्रमाण पत्रको साथै श्रमबजारमा रोजगारीको बृहत्तर अवर सृजना गर्नका लागि राष्ट्रिय योग्यता प्रायरुप सहितको राष्ट्रिय व्यवसायीक योग्यता प्रायरुप मार्फत आर्थिक तथा प्राविधिक सहयोग पुरयाई रहेको उहाँले बताउनु भयो ।

लागु परियोजनाले प्रदेशका युवाहरुलाई दक्ष जनशक्ति बनाउदै रोजगारी र स्वरोजगार अवर सृजना गर्नमा टेवा पुरयाउनु रहेको उहाँले उल्लेख गर्नु भयो । उहाँका अनुसार बेरोजगार र सीमान्तकृत युवाहरुलाई लक्षित गरी छोटो तथा दीर्घकालन तालिम सञ्चालन गर्नु गुणस्तरीय तालिम सुनिश्चित गर्न परिक्षा र सीप परिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने परियोजनाको कार्य रहेको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले रोजगारीलाई सीप संग जोडदै व्यवसायीक जनशक्ति उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो ।
उहाँले बजेट तर्जुमा गर्दा व्यवसायीक तालिममा जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रममा स्थानिय तह प्राविधिक तथा व्यवसायीक शिक्षा तथा तालिम समन्वय समिति गठन प्रकृयाका बारेमा समेत जानकारी दिईएको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्ट, वडा अध्यक्षहरु, उद्यमीहरु, प्राविधिक शिक्षा सञ्चालन गर्दै आएका विद्यालयका प्रमुखहरु, नगरपालिकाका सम्बन्धीत शाखका सरोकारवालहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।






